प्रधानमन्त्रीद्वारा माघीको शुभकामना

0
Shares

काठमाडौं, (नेस)। 

प्रधानमन्त्री केपी शर्मा ओलीले थारू समुदायको प्रमुख चाड माघी तथा नेपालका सबैजसो भू–भागमा मनाइने माघे संक्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ।

उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताका बीच सुदृढ एकताको विशेषतायुक्त देश भएको भन्दै यहाँ प्रचलित पर्वहरूका विविधता हाम्रा बहुमूल्य सम्पत्ति भएको उल्लेख गर्नुभएको छ।

माघे संक्रान्तिमा मासको दाल र चामल मिसाइएको खिचडी, घ्यू–चाकु–तिलको लड्डु, सागपात, तरुल खाने चलन रहेको बताउँदै उहाँले जाडो याममा शरीरलाई तातो राख्ने पोषिला परिकार खाने तथा नदीकिनार तथा त्रिवेणीहरूमा स्नान गर्ने यस पर्वको विशेषता शरीर विज्ञानका हिसाबले पनि उपयोगी भएको उल्लेख गर्नुभएको छ।

माघीलाई थारू जातिको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वका रूपमा लिनुका साथै पुस मसान्तमा घर–घरमा माछामासु र ढिकरी (पीठोको एक परिकार) खाई रातभर मघौटा नाँच नाच्ने चलन रहेको प्रधानमन्त्री ओलीले जारी गर्नुभएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ।