दिलिपले धितोमा प्रयोग गरेको सम्पति फिर्ता नगर्दा पत्रकार ठगिए, घर लिलाम हुने अवस्थामा


सरोज यादव, विराटनगर ।
एभरेष्ट साइन्स सेन्टर शान्ति वन सुनसरीका संचालक तथा वैज्ञानिक दिलिप अधिकारीले धितोमा प्रयोग गरेको सम्पति फिर्ता नगर्दा विराटनगरका अग्रज पत्रकार शिवबहादुर कार्की ठगिएका छन् । अधिकारीले २०६१ कार्तिकमा कार्कीसंग २७ लाख १५ हजार रुपैयाँ लिएका थिए । एभरेष्ट साइन्स सेन्टर स्थापनागर्नकालागि अधिकारीले आफुसंग सहयोगको आचना गरेपछि चिनजानको सज्जन मान्छे भनेर आफुले पैसा सापटी दिएको कार्कीले बताए । कार्कीले ३१ धुर जग्गामा बनेको आफ्नो १६ कोठे घर तत्कालिन सिएसआइटी हाल महालक्ष्मी विकास बैंकमा धितो राखेर दिलिपलाई २७ लाख १५ हजार दिएका थिए ।

अधिकारीले बैंकको उक्त ऋण नतिरेपछि आफ्नो घर लिलाम हुने चरणमा पुगेपछि आफैंले एक करोड तिन लाख रुपैया“ तिरेर घरजग्गा उकासेको पिडित कार्कीका छोरा सुभाष कार्कीले बताउनुभयो । १७ वर्ष लागिसक्दा समेत अधिकारीले उक्त रकम फिर्ता नगरेको र सम्पर्क विहिन भएकाले नेपाल पत्रकार महासंघ मोरङले अन्य विभिन्न अगुवाहरुको सहयोगमा उक्त समस्या समाधानकालागि पहल समेत गरेको थियो ।

ब्याजसहित अधिकारीले एक करोड बढी रकम तिर्नु पर्ने भएपनि महासंघको पहलमा भएको विभिन्न चरणको छलफलमा उनले ९१ लाख रुपैया“ तिर्ने सहमति सहितको कागज गरेको पिडित सुभाष कार्कीले बताउनुभयो । जेठ चार गतेको अर्काे छलफलमा उनले असोज ३० गतेको मिति राखेर ४४ लाख ९० हजार र मंसीर ३० गतेको मिति राखेर ४१ लाख १० हजारको चेक कार्कीलाई दिएका थिए । एभरेष्ट बैंक लिमिटेडमा रहेको उनको खातामा रकम नै नभएपछि उक्त उक्त चेक बाउन्स भएको कार्कीले बताउनुभयो । उहाँले दिएको चेक समेत बाउन्स भएको र राखेको भाकामा रकम फिर्ता नगरेकाले अब आफु कानुनी उपचारमा जाने उनले बताउनुभयो ।