शिक्षक दरवन्दीको माग राख्दै मागदावी–पत्र पेस


कालीवहादुर मल्ल, कालिकोट ।

खाँडाचक्र नगरपालिका–७ मा रहेको कालिका माध्यामिक विद्यालयमा शिक्षकको दरवन्दी व्यवस्थापन गर्न माग राख्दै मानवअधिकार समुह, नागरिक समाज र स्थानीय अभिभावकले आइतबार खाँडाचक्र नगरपालिकामा मागदावी–पत्र पेस गरेका छन् ।

२०३७ सालमा स्थापना भएको कालिका माध्यामिक विद्याल २०७१ सालदेखि कक्षा ११/१२ विज्ञान विषय समेत अध्यापन हुदै आइरहेको भएपनि शिक्षक नहुदा पठन पाठनमा बाधा उत्पन्न भएको भन्दै मानवअधिकार समुहको नेतृत्वमा नगरपालिकामा मागदावी–पत्र बुझाइएको हो ।

मानवअधिकार समुहका सयोजक अविसरा अधिकारी, उपाध्यक्ष दक्षीणा शाही, नागरिक समाजका तुलाराज पाण्डे र स्थानीय अभिभावक निस्ता कार्कीको हस्ताक्षर रहेको मागदावी–पत्र खाँडाचक्र नगरपालिका कार्यवाहक प्रमुख पुष्पराज गिरीलाई वुझाइएको थियो ।

मागदावी पत्रमा ४ सय ६६ सय विद्यार्थी अध्यापन गरिरहेको यस विद्यालयमा प्रावि, निमावि दरवन्दीमा जम्मा १३ जना शिक्षकहरु कार्यरत रहेपनि मावि र उच्च मावि तहमा सून्य दरवन्दी रहेकोले समस्या उत्पन्न भएको उल्लेख गरिएको छ ।

यस्तै विज्ञान विषय अध्यापन गराइने यस विद्यालयमा विज्ञान र अंग्रजी विषय अध्यापन गराउने शिक्षक नहुँदा विद्यार्थीको भविष्य अन्योलतातिर धकेलिएको हुनाले तत्काल शिक्षक व्यवस्थाका लागि रकम विनियोजन गर्न माग गरिएको छ ।

पत्रमा माध्यमिक तहमा निजि श्रोतबाट अध्यापन गराइरहेका शिक्षकहरुको ३२ लाख दिन बाँकी रहेकाले आव २०७६/०७७ बाट निजिश्रोतका शिक्षकहरुले विद्यालयमा अध्यापन गराउन छाडेका कारण समस्या उत्पन्न भएको पनि वताइएको छ ।

मागदावी–पत्र वुझ्दै कार्यवाहक नगरप्रमुख एवम नगर प्रवक्ता गिरीले योपत्रलाई आगमी नगर कार्यपालिकाको वैठकमा पेस गरी गम्भीरताकासाथ छलफल गर्नुका साथै समास्याको समाधान गर्ने प्रतिवद्धता जनाउनु भयो ।