बाँफिकोटमा हेलिप्याड निर्माण

0
Shares

मनिषा केसी, रुकुम ।

जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ स्थित स्यार्पूताल छेउमा हेलिप्याड निर्माण गरिएको छ । विपत्को समयमा आकस्मिक उद्दार गर्न सजिलोका लागि बाँफिकोट गाउँपालिका र नेपाली सेनाको नरसिंह दल गणको सहकार्यमा हेलिप्याड निर्माण गरिएको हो ।
हेलिप्याड निर्माण कार्य सम्पन्न भएपछि सोमबार एक औपचारिक कार्यक्रमका बीच उक्त हेलिप्याडको उद्घाटन गर्नुका साथै गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

हेलिप्याड निर्माणका लागि गाउँपालिकाले निर्माण सामाग्री खरिद गरेको र नेपाली सेनाले इन्जिनियरिङ तथा ज्यामीको काम गरेको गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले जानकारी दिनुभयो । विपत् व्यवस्थापन र उद्दारका लागि हेलिप्याड आवश्यक देखिएकोले नेपाली सेनाको सल्ले स्थित नरसिंह दल गणसँगको समन्वयमा यो काम गरिएको उहाँले बताउनुभयो । जटिल प्रकृतिका प्रसुति सम्बन्धीका बिरामी र अन्य प्राकृतिक विपत्तिको समयमा यस हेलिप्याडले सहज हुने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

हेलिप्याड निर्माणका लागि करिब तीनलाख रुपियाँ बराबरको सामाग्री र दैनिक ५० जनाका दरले ७ दिनको श्रमदानपछि हेलिप्याड निर्माण भएको नरसिंह दल गणका गणपति दिनेश गौतमले बताउनुभयो । नेपाली सेनाले विभिन्न समयमा यस्ता सामाजिक उत्तरदायित्व सम्बन्धीका क्रियाकलापहरु सञ्चालन गर्दै आएको उहाँको भनाइ छ ।

हेलिप्याड उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, बाँफिकोट गाउँपालिकाका उपाध्यक्ष मनकला पुन, प्रमुख प्रशासकीय अधिकृत महेश गुरुङ, अन्य जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी र स्थानीयबासीको उपस्थिति रहेको थियो ।