‘टिपर चालक’ लाई ईश्वरका नाममा १० बुँदे सपथ

94
Shares

मोतीराम तिमल्सिना, काभ्रे

बागमती टिपर ब्यवसायी संघ बनेपाले चालकहरुलाई इश्वरका नाममा १० बुँदे सपथ गराएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको समन्वयमा बागमती टिपर ब्यवसायी संघमा आवद्ध टिपर चालकहरुलाई सपथ गराईएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक विशाल लामाले पहिलो चरणमा ४० जना चालकहरुलाई सपथ गराउनु भएको हो । बागमती टिपर ब्यवसायी संघका अध्यक्ष प्रेम लामाले आफुले आफैलाई सचेत गराउन चालक स्वयंलाई लिखित सपथ गराईएको बताउनु भयो ।

चालकहरुले १० बुँदे सपथमा मादक पदार्थ सेवन गरेर कहिल्यै गाडी नचलाउने, गाडीमा संगितको उफर तथा झलर र सिसामा स्टिकर नराख्ने, बस्ती क्षेत्रमा प्रेशर हर्न नबजाउने, जथाभावी ओभरटेक तथा पार्र्किङ्ग नगर्ने, पानी चुहाएर सामान ढुवानी नगर्ने, अभोरलोड सामान नबोक्ने, गाडी चलाउनु अगाडी गाडीको चेक जाँच गर्न, क्याविन र ढालामा यात्रू नराख्न, तिब्र गतिमा गाडी नचलाउन, गाडी चलाउँदा मोवाईल फोन प्रयोग नगर्न, आकस्मिक सेवाका साधन तथा पैदल यात्रुलाईलाई प्राथमिकता दिन, गाडीको कागज पत्र सधै साथमा राख्न, ट्राफिक नियमको पालना गर्न र भिजिन नेपाल २०२० को प्रचार प्रसारको लागि गाडीमा स्टिकर टाँस्न सपथ गराईएको थियो ।

‘टिपर संचालनमा अनेकन समस्या छन्’–अध्यक्ष प्रेम लामाले भन्नुभयो–‘समस्याका बाबजुत चालकहरुद्वारा हुने दुर्घटना न्यूनिकरणका लागि यो प्रयास गरिएको हो ।’ राजधानीमा दिउँसो टिपर संचालनमा रोक लगाईएको छ । रात्रिकालीन सेवाका कारण चालकहरुको खाना, सुत्ने र पारिवारीक रुपमा पनि समस्या बढ्दै गएको अध्यक्ष लामाले बताउनु भयो । सडक पहिलो सभ्यताको आधार भएकाले सडकको सरसफाई, सुरक्षा, सभ्यता, अनुशासन कायम राख्न ब्यवसायी र चालकहरु प्रतिवद्ध रहेको उहाँले बताउनु भयो । जिल्लाबाट २ हजार २ सय टिपर दैनिक राजधानीका लागि ओहोर दोहोर गरिरहेका हुन्छन् । बागमती टिपरसँग आवद्ध रहेका १ हजार चालकहरुलाई सपथ गराउँदै भिजिट नेपाल २०२० को प्रचार प्रसार गराउने योजना रहेको अध्यक्ष लामाले बताउनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले सडकमा संचालन हुने सवारी साधनको चापका कारण दुर्घटना बढ्दै गएको बताउँदै चालकहरुलाई अझै संयम अपनाउँदै सवारी संचालनका लागि अनुरोध गर्नु भयो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले सवारी साधन संचालन गर्दा सामान्य विषयमा ध्यान दिन सके दुर्घटनाबाट जोगिन सक्ने बताउनु भयो । प्रहरी प्रमुख एसपी रविकुमार पौड्यालले चालकले सवारी नियम उल्लघंन नगर्दा दुर्घटनामा न्युनिकरण आउने बताउनु भयो ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना, इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिना, काभ्रे उद्योग बाणिज्य संघका महासचिव कैलाश पलाञ्चोके लगायतले सडक सुरक्षा र दुर्घटना न्युनिकरणका लागि ध्यान दिनु पर्ने बताउनु भयो ।