पारिवारिक अपराध बढ्दो क्रममा : डिआइजि पोखरेल

0
Shares

भगवती तिमल्सिना, काठमाडौं ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डिआइजि) विश्वराज पोखरेलले पछिल्लो समयमा व्यवसायीक अपराधका घटनामा कमी भएतापनि पारिवारिक अपराधका घटनामा वृद्धि भएकोमा चिन्ता व्यक्त गरेका छन् ।

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर तथा सामुदायीक प्रहरी सेवा केन्द्र वडा नं १०, ३१ र ३२ को संयुक्त आयोजनामा समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत शनिवार नयाँबानेश्वरमा आयोजित ‘सुरक्षा सुदृढीकरण सम्वन्धी अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रम’ लाई सम्वोधन गर्दै डिआइजि पोखरेलले सो चिन्ता व्यक्त गर्नुभएको हो ।

‘जवसम्म हरेक घर, परिवार र समाज सुरक्षित हुँदैन, तवसम्म सिंगो मुलुक सुरक्षित रहन सक्दैन’ भन्दै डिआइजि पोखरेलले अहिले दैनिक ३० देखि ४० वटा घटना परिवारसंग सम्वन्धित घरेलु हिंसाका उजुरी प्रहरीमा आउने गरेको बताए । ‘हामी व्यवसायीक र पेशेवर अपराधका घटना नियन्त्रण गर्न सफल भएका छौं तर परिवारभित्र हुने गरेका घटना नियन्त्रण गर्न कठिन भइरहेको छ’—उहाले भन्नुभयो ‘आफ्नै बाबुबाट नावालक छोरीसमेत वलात्कृत हुनुपरेका घटना दिनँहू बढीरहेका छन ।’

आफन्तबाटै वलात्कृत भएका ६/७ वटा घटना दैनिक जसो प्रहरीमा आउने गरेको घटनाले गर्दै डिआइजि पोखरेलले पछिल्लो समय सामाजिक सञ्जालले पनि अपराध बढाईराखेको पनि बताउनुभयो । व्यभिचार, दुराचार र भ्रष्टाचारबाट जेलिएको अवस्थामा नेपाली समाज रहेको उल्लेख गर्दै डिआइजि पोखरेलले मानिस भएर पैसाको लागि मानिस नै वेच्ने वर्तमान समाजको चरित्र रहेको बताए । ‘अहिले मानवीय मूल्य मान्यतामा क्षति हुँदै गएको छ’—पोखरेलले भन्नुभयो ।

समाजका सवैवर्गले आफ्नो अधिकारमात्रै खोज्ने नभई समाज र देशप्रतिको आफ्नो कर्तव्य पनि निभाउनुपर्ने बताउँदै डिआइजि पोखरेलले ऐन कानून कार्यान्वयन गर्दै समाजमा सुशासन कायम गर्न समाजका सवै वर्ग र समुदायको उत्तिकै जिम्मेवारी रहेको उल्लेख गर्नुभयो ।

प्रहरी संगठन र संगठनमा आवद्ध सवै प्रहरी कर्मचारी आफ्नो पेशाप्रति इमान्दार र कर्तव्यनिष्ट हुनुपर्ने बताउँदै प्रहरीले गर्ने कुनैपनि अपराध क्षम्य नहुने पनि प्रष्ट पारे । प्रहरीले सबैलाई समान व्यवहारमा निष्पक्ष भएर काम गर्नुपर्ने उल्लेख गर्दै उनले प्रहरीको निष्पक्षता, असल चरित्र र व्यवहारले मात्रै समाजमा परिवर्तन आउनसक्ने ठोकुवा गर्नुभयो ।

समाजमा अहिलेदेखि नै अपराधका घटना नियन्त्रण गरि सुरक्षाको स्थितिलाई सुधार्न सकिएन भने भविष्यमा सुरक्षा निकायमा कार्यरत प्रहरी मात्रै नभई समाजमा कोही पनि सुरक्षित रहन नसक्ने पनि डिआइजि पोखरेलले बताउनुभयो ।

कार्यक्रममा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीले सर्वसाधारण जनताको सुरक्षालाई मुख्य प्राथमिकतामा राखी प्रहरीले काम गर्दै आएको बताउादै यसको लागि सबैबाट प्रहरीलाई सहयोग पुगिरहेको बताउनुभयो ।

सामुदायीक सेवा तथा विकास समाज वडा नं ३१ का अध्यक्ष प्रा.डा. बासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न कार्यक्रममा ३१ नं वडा अध्यक्ष नारायणप्रसाद भण्डारी, १० नं वडाध्यक्ष रामकुमार केसी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले शान्ति सुरक्षा सुदृढीकरणबारे आआफ्नो धराणा राखेका थिए भने जीवन विज्ञान योग प्रयोगशाला मिनभवनका अध्यक्ष एवम् पुर्व डिएसपि सुरेन्द्रप्रसाद भट्ट, सुघोष नेपाल, गोमा बराललगायतले आआफ्ना जिज्ञासा राखेका थिए भने सामुदायीक प्रहरी सेवा केन्द्र १० नयाँबानेश्वरका इन्चार्ज प्रहरी हवल्दार ताराराम दयालले शान्तिसुरक्षा सुदृढीकरण कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

त्यस अवसरमा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर तथा सामुदायीक प्रहरी सेवा केन्द्र वडा नं १०,३१ र ३२ को तर्फबाट सामुदायीक सेवा केन्द्र ३१ का अध्यक्ष प्रा.डा. वासुदेव त्रिपाठीले संयुक्तरुपमा डिआइजि पोखरेललाई सम्मानपत्रद्वारा सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा सडक मानवबारे मानव सेवा आश्रमकी मनिषा खत्रीको संयोजकत्वमा खोइ कहाँ छ मानव सडक नाटक तथा अध्ययन नाट्य समूहद्वारा लागुऔषधबारेको सडक नाटक प्रस्तुत गरिएको थियो । सन्देशमुलक ती दुवै सडक नाटक हेर्दा डिआइजि पोखरेल लगायत उपस्थित सबै दर्शकका आँखा रसाएका थिए ।