पुष्कर बुढाथोकी,भक्तपुर ।
भक्तपुर जिल्ला अन्तर्गत सुर्यविनायक नगरपालिका वडा नं ९ नंखेलमा रहेको लिच्छिवीकालिन नन्दीकेश्वर महादेव मन्दिरमा आगामी माघ १ गते बुधबार बृहत अन्नदान मेला आयोजना हुने भएको छ । नन्दिकेश्वर महादेव संरक्षण तथा विकास समितिले नन्दिकेश्वर मन्दिर प्राङगणमा आयोजना गरेको पत्रकार सम्मेलन यसबारे जानकारी दिदै समितिका उपाध्यक्ष श्रीराम व्याञ्जूले यसवर्ष माघ १ गते १५ औ अन्नदान मेला आयोजना गर्न लागेको जानकारी दिनुभयो ।
मन्दिरको दैनिक पूजा एवं आरती व्यबस्थापनमा ठूलो टेवा पुर्याउदै आएको अन्नदान मेलामा विगतका वर्षमा स्थानीयले मात्रै सहभागिता जनाएपनि यसवर्षदेखि अन्नदान मेलामा सहभागिता जनाउन सबैमा उहाँले आव्हान गर्नुभएको छ ।
अन्नदान मेलामा धान, चामल, गहँु, जौ लगायतका अन्नहरुको साथै स्वेच्छाले आर्थिक दान दिन आव्हान गरिएको हो । नन्दीकेश्वरमा अन्नदान गर्दा पुण्य प्राप्त हुने र अन्नको उत्पादनमा कृषकलाई टेवा पुग्ने जनविश्वासका आधारमा पनि स्थानीयको सहभागिता एवं दान आउने गरेको समितिका उपाध्यक्ष व्यञ्जुले बताउनुभयो ।
पत्रकार सम्मेलनमा समितिले मन्दिर परिषरमा निर्माण भईरहेका र हुने भौतिक संरचनाहरु समेटिएको रु. सात करोडको लागतको गुरुयोजना समेत सार्वजनिक गरेको छ । मन्दिरको पूर्वतर्फ बहुउपयोगी सामुदायीक भवन, मूल मन्दिर, कलात्मक गेट, भजन पाटी लगायतको भौतिक संचरना निर्माणको गुरुयोजना सार्वजनिक गरेको हो ।
जसमा मूल मन्दिर निर्माणका लागि रु. २ करोड ५९ लाख, बहुउदेश्यीय सामुदायीक भवन निर्माणका लागि रु. २ करोड ५० लाख, कलात्मक प्रवेशद्धार निर्माणका लागि रु. २८ लाख २५ हजार, भजन पार्टी एवं सत्तल निर्माणका लागि रु. ३९ लाख ६९ हजार, दाफा भजन घर निर्माणका लागि रुं ३५ लाख ५७ हजार, ढुङ्गा छपाईका लागि ४३ लाख ५४ हजार लगायत पार्क र अन्य संचरना निर्माण गर्ने गरि गुरुयोजना सार्वजनिक गरेको हो ।
जसमा पुननिर्माण प्राधिकरणले रु. १ करोड बजेटमा पुरातत्व विभाग मार्फत पुरातात्विक शैलीमा कलात्मक मन्दिर निर्माण गरिदिने भएको छ । गुरुयोजना अनुसार थप बजेट सहित मन्दिर निर्माण सम्पन्न पुरातत्व विभागबाटै हुने अपेक्षा गरिएको समितिका अध्यक्ष तुलसीदाश कासुलाले बताउनुभयो ।
त्यस्तै मन्दिरको पूर्वपट्टी बहुउदेश्यीय सामुदायिक भवन निर्माण कार्य सुरु भई चार तलाको स्ट्रक्चर निर्माण गरी ढलान कार्य सम्पन्न गरि थप संरचना निर्माण भईरहेको छ । जसका लागि हालसम्म रु. एक करोड ६९ लाख खर्च भईसकेको छ । ३ नं. प्रदेश सरकार, सांसद कोष, सूर्यविनायक नगरपालिका, स्थानीय चन्दा दाताबाट प्राप्त उक्त रकम र जनश्रमदानमा भवन निर्माण भईरहेको समितिका उपाध्यक्ष व्यञ्जुले जानकारी दिनुभयो ।
बहुउदेश्यीय सामुदायिक भवन निर्माण सम्पन्न भएपछि उक्त भवनमा मन्दिरका पुजारीको आवास गृह, विवाह, ब्रतबन्ध लगायतका धार्मिक कार्य गर्ने स्थल, धार्मिक ग्रन्थहरु समेटिएका धार्मिक पुस्तकालय, ज्येष्ठ नागरिकका लागि दिवा सेवा संचालन लगायतका कार्यमा प्रयोगमा ल्याईने बताइएको छ ।
पुरातत्व विभागले गरेको उत्खनन्का आधारमा परापूर्वकालमा यस क्षेत्रमा धार्मिक किल्ला नै खडा गरि भौतिक संरचनाको विकास भएको र उक्त संरचना कुनै कालखण्डमा प्राकृतिक प्रकोप तथा प्रलयबाट क्षति पुगेकाले भग्नावेशषमा परिणत भएको समितिका सदस्य मुकुन्द शर्माले बताउनुभयो ।
भक्तपुरको प्रसिद्ध धार्मिक स्थल मध्य एक मानिने नन्दीकेश्वर महादेव मन्दिरमा बैशाख पूर्णिमाको दिन १०८ कन्यासहितको खट जात्रा, श्रावणी मेला एवं प्रत्येक संक्रान्तीमा विशेष पुजा, माघ १ गते अन्नदान, जनै पूर्णिमा मेला, हरितालिका तिज मेला, नवरात्री मेला, सकिमना पूर्णिमा मेला, शिवरात्री मेला लाग्ने गर्दछ ।











प्रतिक्रिया