खानेपानीको भौगर्भिक सर्भेक्षण गरिने



नेपाल समाचारपत्र, काभ्रे।

धुलिखेल नगरपालिकामा खानेपानीको भौगर्भिक सर्भेक्षण गरिने भएको छ। धुलिखेल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको २०औं वार्षिक साधारण सभामा धुलिखेलका नगर प्रमुखले उक्त कुरा बताउनुभएको हो।‘धुलिखेल नगरका सबै क्षेत्रमा एउटै खानेपानीको महसुल, लागत र सहभागिता हुनेछ, नगर प्रमुख अशोक ब्याञ्जूले भन्नुभयो– ‘भौगर्भिक अवस्थाका बारेमा समेत सर्भे शुरू गरिएको छ।’

डब्लूडब्लूएफ र काठमाडांै विश्वविद्यालयको सहयोगमा जमिनभित्रको अवस्था, स्रोत र समस्याका बारेमा अध्ययन गरिरहेको उहाँले बताउनुभयो। धुलिखेल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको २०आंै वार्षिक साधारण सभा धुलिखेल नगरपालिकाका प्रमुख ब्याञ्जूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। अध्यक्ष रामेश्वर घिनांजुको अध्यक्षतामा सम्पन्न सभाले खानेपानी महसुल बढाउने निर्णय गरेको छ।

रोशी जलाधार क्षेत्रको सम्भाव्यता अध्ययन, सामाजिक प्रभावको मूल्यांकन, पानीको स्रोत संरक्षण परियोजना सञ्चालन, पानी सोस्ने रूख हटाइ पानी उत्पादन गर्ने वृक्षारोपण कार्यक्रम, रिचार्ज व्यवस्थापन, खानीको वैकल्पिक व्यवस्थाका बारेमा कार्यक्रम शुरू गरिएको नगर प्रमुख ब्याञ्जूले बताउनुभयो। धुलिखेल नगरपालिकाले २०४४ सालदेखि जिल्लाको भूमिडाँडा क्षेत्रबाट खानेपानी ल्याइरहेको छ।

काभ्रे उपत्यकाका तीन नगरपालिका धुलिखेल, बनेपा र पनौती क्षेत्रमा पनि उक्त क्षेत्रबाट पानी ल्याउने कार्य अन्तिम चरणमा पुगेको छ।
सभामा बोल्दै नगर प्रमुख ब्याञ्जूले धुलिखेल नगरपालिकालाई खानेपानीमा आत्मनिर्भर बनाउँदै स्वच्छ र गुणस्तरीय खानेपानीका लागि दीर्घकालीन सोचसहितको कार्यक्रम शुरू गरिएको बताउनुभयो।

नेपालमै पहिलो पटक धुलिखेल नगरपालिकाले खानेपानी सम्मेलन आयोजना गरेको बताउँदै नगर प्रमुख ब्याञ्जूले खानेपानी ऐन ल्याएको जानकारी गराउनुभयो। नगरपालिकाले दुरदृष्टि राख्दै दिगो विकास लक्ष्यअनुसार पानीको गुणस्तरमा ध्यान दिएको नगर प्रमुख ब्याञ्जूले बताउनुभयो। जसअनुसार धुलिखेल नगरपालिका–१ को छौंैंैंैंैंैंँगे र वडा नम्बर ११ को धिताल टोलमा गुणस्तरीय खानेपानी उपलब्ध गराइसकिएको जानकारी गराउनुभयो।

जसका कारण नगरपालिकाको खानेपानी व्यवस्थापनमा राख्दै आएको गौरवलाई थप अन्र्तराष्ट्रिय क्षेत्रमा पुर्याउन सहयोग पुर्याएको बताउनुभयो। ‘नगरपालिकाले जनप्रतिनिधि निर्वाचित भएलगत्तै एक घर एक धाराको अभियानल शुरू गरेको हो, नगर प्रमुख ब्याञ्जूले भन्नुभयो– ‘१ हजार ३ सय घर धुरीमा एक घर एक धारा पुगिसकेको छ भने चालू वर्षमा १ हजार ८ सय घरमा एक घर एक धारा जडान हुनेछन्।’

९ वटा खानेपानी योजना सञ्चालन भइरहेको बताउँदै नगर प्रमुख ब्याञ्जूले ९ वटा अर्काे वर्ष सञ्चालन हुने बताउनुभयो। ५ वटा डिप बोरिङ सम्पन्न भएको बताउँदै उहाँले ४ वटा डिप बोरिङको कार्य भइरहेको उहाँले बताउनुभयो। नगर प्रमुख ब्याञ्जूले समस्या पहिचान गरी समाधानका लागि वार्षिक योजना र कार्यक्रम तय गरिएको बताउनुभयो।

दातृ विकाय, नेपाल सरकार, धुलिखेल नगरपालिकाको संयुक्त लगानीमा खानेपानीका कार्यक्रमहरू भइरहेको उहाँले बताउनुभयो।२०४२÷०४३ सालमा डिजाईन स्टमेट गरी २०४४ सालमा शरूभई २०४९ सालमा निर्माण सम्पन्न भएको धुलिखेल खानेपानी आयोजना २०५० साल असार २३ गते समुदायलाई नेपाल सरकारले हस्तान्तरण गरेको थियो।

गत आर्थिक वर्षमा १ करोड ९६ लाख ७५ हजार ५ सय ४२ रुपियाँ आम्दानी गरेको संस्थाले २ करोड ३५ लाख ८९ हजार २ सय २४ रुपियाँ खर्च गरेको छ। साविक धुलिखेल नगरपालिकाका केहि वडाहरूका लागि लक्षित गरी सञ्चालन गरिएको उक्त खानेपानी हाल धुलिखेल नगरपालिकाको वडा नम्बर ३, ४, ५, ६, ७ र ८ नम्बर वडाका उपभोक्ताहरूका लागि वितरण गरिएको छ।

२ हजार ७ सय ८३ सदस्य रहेको उक्त समितिले खारखोलाबाट दैनिक १७ लाख लिटर र आन्तरिक स्रोतबाट २ लाख लिटर गरी १९ लाख लिटर पानी वितरण गर्दै आएको छ। चालू वर्षमा ३ करोड २९ लाख १० हजार आम्दानी गरी ३ करोड १७ लाख खर्च गर्ने निर्णय गरेको छ। कार्यक्रममा सचिव वृन्द्रलाल श्रेष्ठ, कोषाध्यक्ष दयाराम यगोल, लेखा संयोजक विष्णु सापकोटाले तयार गरेको प्रतिवेदन प्रस्तुत गरिएको थियो।

कार्यक्रममा बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका शिक्षा निर्देशक चन्द्रप्रसाद लुइँटेल, प्रबन्धक रामेश्वर पराजुली, उपाध्यक्ष गिता श्रेष्ठ, पूर्व सञ्चालक पूर्णबहादुर कर्माचार्य, पनौती नगरपालिका–१२ का अध्यक्ष इश्वर जंगमलगायतले मन्तब्य राख्नु भएको थियो। कार्यक्रममा उपप्रमुख विमला शर्मा, खानेपानी उपभोक्ता समितिका पूर्वअध्यक्षहरू कृष्णभूषण खोंजू, राजकुमार तखाँक्षे, धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोंजूलगायत पूवसञ्चालकहरूको सहभागिता रहेको थियो।

सभाले खानेपानी महसुल वृद्धि गर्ने निर्णय गरेको छ। घरायसी, व्यवसायिक धाराहरूको मुल्यमा केहि वृद्धि गरिएको छ भने धरौटी, नामसारीलगायतमा अतिरिक्त शुल्क कायम गरिएको प्रबन्धक रामेश्वर पराजुलीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्