बाँके र बर्दियालाई कर्णालीमा मिसाउन संयुक्त दबाब आवश्यक

0
Shares

बाँके, (नेस)।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बाँके र बर्दियालाई कर्णालीमा मिसाउनका लागि दबाब सिर्जना गर्नुपर्ने बताउनुभएको छ।उपचारको सिलसिलामा नेपालगन्ज आउनुभएका मुख्यमन्त्री शाहीले कर्णालीले बाँके र बर्दियालाई मिसाउन कुनै कसर बाँकी नराख्ने बताउँदै यहाँका जनताले दबाब सिर्जना गर्नुपर्ने बताउनुभयो।

‘हाम्रोतर्फबाट कुनै कसर बाँकी राख्दैनौं, तपाईंहरूले यताबाट दबाब सिर्जना गर्नुस्, नेपालगन्जका व्यापारीहरूसँगको भेटमा मुख्यमन्त्री शाहीले भन्नुभयो– ‘संयुक्तरूपमा दबाब सिर्जना गर्न हामी तयार छौं।’

५ नम्बर प्रदेशमा रहेको बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा मिसाउनु पर्ने आवाज उठिरहेको बेलामा कर्णालीका मुख्यमन्त्री शाहीले नेपालगन्जमा त्यस्तो प्रतिक्रिया दिएपछि कर्णाली प्रदेशमा मिलाउनुपर्छ भन्नेहरु खुसी भएका छन्।

मुख्यमन्त्री शाहीले विगतदेखि नै बाँके र बर्दियाको कर्णालीको गहिरो साइनो रहेकाले यी दुई जिल्ला कर्णालीबाट अलग हुन नसक्ने बताउनुभयो। ‘बाँके र बर्दियालाई जोड्दा कर्णाली प्रदेश हिमालदेखि तराईसम्म फैलिन्छ।

यसले समृद्ध प्रदेश बनाउन ठूलो सहयोग पुर्याउँछ, मुख्यमन्त्री शाहीले भन्नुभयो– ‘बाँके र बर्दियाका जनतालाई पनि कर्णालीमा मिसिँदा फाइदा हुन्छ।’नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनको माहोल चलिरहेको बेलामा नेपालगन्ज आइपुगेका कर्णालीका मुख्यमन्त्री शाही दुवै प्यानलको सचिवालयमा पुगेका थिए।

नेपालगन्जका व्यापारीले शाहीलाई सम्मान गरेका थिए।नेपालगन्जका मेयर डा. धवलशमशेर राणाले बाँके र बर्दियालाई कर्णालीमा मिसाउने एकसूत्रीय अभियान थालेका छन्। त्यसमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यको साथ रहेको छ।

प्रदेश सांसद एवं जडीबुटी व्यवसायी संघका अध्यक्ष मो. याकुव अन्सारीले सार्वजनिकरूपमा बाँके र बर्दियालाई कर्णालीमा मिसाउनुपर्ने आवाज उठाइरहेका छन्। बाँके र बर्दिया ५ नम्बर प्रदेशको सुदूर जिल्लामा पर्छन्।