दशकपछि पाए अस्थायी लालपूर्जा

0
Shares

बाँके, (नेस)।

नगर विकास समितिले वाटरपार्क जग्गा एकीकरण आयोजनाका जग्गा धनीलाई अस्थायी लालपूर्जा वितरण गरेको छ।सर्वसाधारणको जग्गा अधिग्रहण गरेर आयोजनाले काम गरिरहेको छ। एक दशकपछि जग्गा धनीले अस्थायी लालपूर्जा पाएका हुन्। आयोजनाले ७ सयभन्दा बढी जग्गाधनीको लालपूर्जा लिएको थियो।

त्यसमध्येमा पहिलो चरणमा एक सय ८७ जनालाई अस्थायी लालपूर्जा वितरणको शुरुआत गरेको छ। नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा, उपमेयर उमा थापामगर, कार्यकारी अधिकृत हरि प्याकुरेलले आयोजनाका जग्गाधनीलाई अस्थायी लालपूर्जा वितरण गर्नुभयो।

सो अवसरमा मेयर राणाले वाटरपार्कको काम द्रूतगतिमा अघि बढिरहेको र छिटोभन्दा छिटो स्थायी लालपूर्जा वितरण गर्ने बताउनुभयो।
वाटरपार्कलाई व्यवस्थित बसोबासस्थल बनाउन आयोजनाले २०६४ देखि जग्गा अधिग्रहण थालेको थियो। आयोजना ६५ बिगाहमा समेटिएको थियो।

त्यहाँ २१, १८, ११, ९, ६ मिटरका व्यवस्थित बाटो निकालिएको छ। आयोजनाले बाटो, बिजुली, ढल, पानीसहितको व्यवस्थित बस्ती निर्माण गर्दै छ। जग्गा अतिग्रहण गरेर घडेरीका रूपमा विकास गरिएको छ।

दश वर्षअघि लालपूर्जामा रहेको जग्गा घटेर आएको छ। व्यवस्थित बसोबासका क्रममा बाटो निकाल्दा ती जग्गा परेका छन्। नीयवासी बलबहादुर चन्दले २ कठ्ठा ३ धुर जग्गा रहेकोमा अहिले घटेर एक कठ्ठा नौ धुरमा समेटिएको बताउनुभयो।

बाटोको चौडाइअनुसार जग्गाधनीले योगदान गर्नुपर्ने नियम बनाइएको छ। जस्तो, नौ मिटरको बाटो बनेको छ भने जग्गा धनीले ३३ प्रतिशत योगदान गर्नुपर्छ। २१ मिटरको बाटो बनेको छ भने जग्गा धनीले ६५ प्रतिशत योगदान दिनुपर्छ। कसैको एक कठ्ठा जग्गा छ र नौ मिटरको बाटोमा परेको छ भने उसको जग्गा १३ धुरमा समेटिन्छ।

अस्थायी लालपूर्जा वितरण गर्दै उपमेयर थापाले अझै धेरै जग्गा धनी सम्पर्कमा नआएकाले सम्पर्कमा ल्याउनुपर्ने बताउनुभयो। नगर विकासले आयोजनाका लागि लालपूर्जा लगिदिएपछि स्थानीयवासीले बिक्री वितरणदेखि धितो राखेर ऋण निकाल्न पाएका थिएनन्।

नगर विकास समितिको कार्यभार उपमहानगरपालिकामा आएपछि कार्यकारी अधिकृत प्याकुरेलले लालपूर्जा वितरणको कामलाई द्रूतगतिमा अघि बढाउनुभएको थियो।