दुई अभिवक्तामाथि कारबाही

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल कानुन व्यवसायी परिषद्ले आचारसंहिताविपरीत कार्य गर्ने दुई जना कानुन व्यवसायीलाई कारबाही गरेको छ।अभिवक्ता खत्री (प्रमाणपत्र नम्बर ४४९३)ले काठमाडौं जिल्ला, गोलढुंगा–५ बस्ने काबु पुतुवारको कानुन व्यवसायी भई कार्य गर्दा मुद्दा मिलापत्र गराएबापत संयुक्त राजीनामा गरी ३ आना जग्गा आफ्नो नाममा पास गराएका थिए।

उनले उक्त जग्गामा आफ्नो पक्षलाई उचाली बन्डापत्र बदर मुद्दा हाल्न लगाई दोहोरो भूमिका खेली दलाली गरेका थिए। कानुन व्यवसायीको आचारसंहिता, २०५१ को नियम ३ (१) (ब)विपरीतको कसुर गरेकाले उनलाई नियम ७(२)बमोजिम पुष २४ गतेदेखि लागू हुने गरी कारबाही गरिएको हो।

अर्का अभिवक्ता बोहरा (प्रमाणपत्र नं ४३५८) ले अभिवक्ताको प्रमाणपत्र नम्बर उल्लेख गरी अधिवक्ता हुँ भनी कानुन व्यवसाय गरी कानुन व्यवसायीको आचारसंहिता, २०५१ को नियम ३(१) (क) र (ङ) विपरीतको कसुर गरेकाले नियम ७(१) बमोजिम पहिलोपटक नसिहत दिने ठहर भएको परिषद्ले जनाएको छ।

परिषद्का सचिव रामहरि शर्मा काफ्लेका अनुसार अभिवक्ताद्वय कृष्णबहादुर खत्री र खगेन्द्र बोहरालाई कारबाही गरिएको हो।
परिषद्मा प्राप्त उजुरीका आधारमा छानबिन गरी उनीहरूलाई अनुशासन समितिले कारबाही ठहर गरेको हो।