काठमाडौं, (नेस)।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभालाई लाचार छाया बनाएको आरोप लगाएको छ।
सभामुखको विषयमा पार्टीभित्र विवाद बढेसँंगै आइतबार आह्वान गरेको प्रतिनिधिसभा बैठक माघ ६ गतसम्मका लागि स्थगित गरेपछि कांग्रेसले यस्तो आरोप लगाएको हो।
प्रतिनिधिसभा बैठक स्थगित भएको सूचना आउनासाथ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै पार्टीभित्रको विवादको छायामा प्रतिनिधिसभालाई लाचार छाया बनाउन खोज्नु आपत्तीजनक र लज्जास्पद भएको जनाउनुभएको छ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले यसलाई सरकार र सत्तारूढ दल नेकपाको संसद्प्रतिको गैरजिम्मेवार व्यवहारका रूपमा लिएको भन्दै प्रवक्ता शर्माले प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी बनाउन नहुने बताउनुभएको छ।
संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भूमिका, गरिमा र महत्तव हुने भन्दै कांग्रेसले तीन महिनादेखि रिक्त हँुदा पनि सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु आपत्तीजनक विषय भएको पनि कांग्रेसले जनाएको छ।
स्वयं सत्तापक्षको कारण तीन महिनादेखि सदन अवरुद्ध भएको विषयप्रति विशेष चासो राख्दै कांग्रेसले दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन सरकारलाई चेतावनी पनि दिएको छ।











प्रतिक्रिया