फेरि हिउँदे झरी

0
Shares

टीका बन्धन, काठमाडौं।

भू–मध्य सागरको वायुको प्रभाव सक्रिय भएपछि हिउँदे झरीको असर फेरि दोहोरिने भएको छ।सो सागर हुँदै दक्षिण एसियाली मुलुकतर्फ वहने जलवाष्पयुक्त हावाको मात्रा पर्याप्त भएपछि हिउँदे झरी दोहोरिने भएको हो।

आज सोमबारदेखि मध्य र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली भेगमा देखिने यस्तो असर आगामी बिहीबार र शुक्रबार मुलुकका अधिकांश क्षेत्रमा फैलिँदै छ।

‘गत वर्षको तुलनामा पश्चिमी वायु केही बढी सक्रिय भएकाले हिउँदे वर्षा भइरहेको छ, एउटा सानो प्रणाली भोलि भित्रिँदै छ, बिहीबार भने लगभग देशैभरको मौसम प्रभावित हुने गतिविधि विकास भइरहेको छ।’ –आइतबार साँझ मौसमविद् वरुण पौडेलले भन्नुभयो।

हिउँद यामको मौसम प्रभावित गराउने भू–मध्य सागरको वायु इरान, अफगानिस्तान, पाकिस्तान, उत्तरपश्चिम भारत हुँदै नेपालको पश्चिमी भेगबाट भित्रिने गर्छ। पृथ्वीको सतहबाट वायुमण्डलको पाँच किमिभन्दा माथिको हाराहारी हुँदै वहने भूमध्य सागर र अरब सागरको वायुको दोहोरो मिश्रणले नेपालसहित दक्षिण एसियाली मुलुकको हिउँदे मौसम प्रभावित बन्ने गर्छ।

मध्यभारतमा विकसित हुने न्यून चापीय क्षेत्र (हावाको कम चाप हुने क्षेत्र) पाकिस्तानबाट उत्तरपूर्वी दिशा हुँदै वहेमा नेपालतर्फ असर देखिँदैन। मध्यभारतमै विकसित हुने न्यून चापीय क्षेत्रमा जलवाष्पयुक्त हावा मिसिएपछि नेपाल, भारत र आसपासका मुलुकको मौसम प्रभावित बन्ने गर्छ।

यस्तो गतिविधि दोहोरिरहेकाले हरेक साता हिउँदे झरीको असर देखिन थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो।‘भू–मध्य सागरको वायु र अरब सागरको वायुको मिश्रण भयो भने हिउँदे वर्षा झनै सशक्त बन्ने गर्छ।’ –उहाँले भन्नुभयो।

मौसमविद्हरू अंग्रेजी महिनाको डिसेम्बर, जनवरी र फेब्रुअरी महिनालाई मध्य हिउँदे अवधि बुझ्ने गर्छन्। यसपटक डिसेम्बर महिनामा मुलुकका अधिकांश भेगमा हिउँदे वर्षाले औसत मात्रा नाघिसकेको र वर्षाका कारणले तराई र अन्यत्र हुस्सुको प्रभाव देखिने थालेको महाशाखाले जनाएको छ।

डिसेम्बरमा काठमाडौं उपत्यकामा हिउँदे झरीको औसत मात्रा १३ मिलिमिटर तोकिएकोमा यसपटक सो मात्रा नाघेर ३७ मिलिमिटर पुगेको मौसमविद् पौडेलले जानकारी दिनुभयो।

‘डिसेम्बरमा उपत्यकामा हिउँदे वर्षाको मात्रा दोब्बरभन्दा निकै माथि पुग्यो। जनवरीको औसत वर्षा १४ दशमलव ४ मिलिमिटर हो। अहिलेसम्म ९ दशमलव २ मिलिमिटर पुगिसक्यो, यसपटक यो मात्रा सजिलै नाघ्ने संकेत देखिन्छ।’ –उहाँले भन्नुभयो।