‘शटरका व्यापारीलाई फुटपाथमा हैन, फुटपाथका व्यापारीलाई शटरमा ल्याऊ’


न्यूज अफ नेपाल, काठमाडौं ।
महंगो शटर भाडा तिरी व्यवसाय सञ्चालन गर्दै आएका शटरका व्यापारीलाई सरकारले फुटपाथमा पुर्याउन खोजेको कोटेश्वरका स्थानीय पसल व्यवसायीहरुले गुनासो गरेका छन् ।

चोभारमा आयोजना गरिएको कोटेश्वर व्यवसायी संघको १४ औं वार्षिक साधारणसभाका अवसरमा संघका अध्यक्ष सरोज कुमार थापाले महंगो शटर भाडामात्रै नभई विजुली, पानी महशुल, व्यवसाय कर, फोहोरमैला कर, स्थानीय निकाय कर लगायत तिर्ने व्यवसायीलाई सरकारले केही सहुलियत नदिएको गुनासो गरे ।
तर उता सरकारलाई कुनै कर नै नतिरी फुटपाथमा व्यवसाय गर्नेहरुले पसल कवल (शटर) वालाहरुको व्यवसाय चौपट पारेको प्रति गुनासो गर्दै अध्यक्ष थापाले स्थानीय निकाय र सरकारले तिनै फुटपाथे व्यापारीकै पृष्ठपोषण गर्ने गरेको गुनासो गरे । फुटपाथका व्यापारीहरुले सडक पेटी समेत लाखौंको मुल्यमा अन्य व्यापारीलाई विक्री गरी राज्यलाई कर छली गरेको पनि अध्यक्ष थापाले आरोप लगाए ।

फुटपाथका व्यापारीलाई शटरमा व्यवस्थापन गर्ने नभई शटरका व्यापारीलाई फुटपाथमा झार्ने उल्टो र अव्यवहारिक सरकारी नीति रहेको अध्यक्ष थापाको गुनासो थियो । मुलुकले भ्रमण वर्ष मनाईराख्दा व्यापारको नाउँमा व्यापारीले फुटपाथ कब्जा गर्नु लाजमर्दाे भएको पनि उनले बताए ।
फुटपाथमा व्यापारमात्रै नभई अव्यवस्थित पार्किङ्ग, शहरका भित्री बाटोमा सडक बत्तिको व्यवस्था गरिनुपर्ने माग राख्दै अध्यक्ष थापाले अन्य विविध समस्याले गर्दा शटरवाला व्यवसायीको व्यवसाय चौपट भएको बताए ।

स्थानिय निकायले ती समस्यामा समयमै ध्यान नदिँदा समस्या ज्यूँका त्यूँ रहेको बताउँदै अध्यक्ष थापाले सरकारले आर्थिक सम्वृद्धिको कुरा गरिराख्दा स्वदेशमै केहि गर्छु भनेर ऋणधन गरि व्यापार व्यवसाय गर्ने व्यवसायीहरुको लगानीकोे सुनिश्चितता गर्ने नीति सरकारले अवलम्वन गर्नुपर्ने माग गरे ।
साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले महानगरपालिकाले महानगरका सबै ठाउँको फुटपाथ व्यवसायलाई व्यवस्थित गर्दै त्यस्ता व्यापारीलाई करको दायरामा ल्याउने पहल शुरु भईसकेको बताइन् । फुटपाथे व्यापारीका कारण स्थानीय

निकायलाई कर उठाउन समस्या भएको मात्रै नभई पैदलयात्रुलाई हिँड्न समेत कठिन हुने गरेको गुनासो बढेको बताइन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल, उपाध्यक्ष रुक्मणि सेँढाई, महासचिव एवम् रञ्जना व्यापार संघका अध्यक्ष अञ्जन शाक्य, बानेश्वर व्यापार संघका अध्यक्ष रामशरण गिरीलगायतले कानूनी प्रकृया पुरा गरि सञ्चालित व्यवसायीहरुको लगानी सरकारले डुब्न दिन नहुने कुरामा जोड दिए ।

त्यस अवसरमा नेपालकै कान्छा सरसफाई अभियन्ता केपि खनाल तथा संघको विविध कार्यक्रममा आर्थिक सहयोगदाता शिखर ममः कोटेश्वरका सञ्चालक रामकुमार लामालाई सम्मान गरिएको थियो भने कोटेश्वर व्यवसायी संघका पदाधिकारीका छोराछोरीमध्ये २०७५ सालको माद्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंक ल्याएका छात्र अभिशेष श्रेष्ठ र छात्रा दिपिका थापालाई जनही नगद ५/५ हजारसहित प्रशंसापत्रद्वारा सम्मान गरियो । यसैगरि संघको कार्यसमितिका पुर्व महासचिव केदार तिमिल्सना, सदस्य दिलकाजी गुरुङ्ग र सदस्य ललिता खनियाँलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।
संघका अध्यक्ष थापाले कार्यक्रमकी प्रमुख अतिथि उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई मायाको चिनो प्रदान गरे ।