नेपालीलाई अनेक बहानमा विभाजन गर्न खोजिएकाले सचेत हुनुपर्छः कांग्रेसका नेता शाह


न्युज अफ नेपाल, जाजरकोट ।

नेपाली कांग्रेसका नेता एवं पुर्व सांसद राजीव विक्रम शाहले २ सय ८९ औ पृथ्वी जयन्तीका अवसरमा परिवर्तनका नाममा हामीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानलाई विर्सन नहुने बताउनु भएको छ ।

परिवर्तनका नाममा पुर्खाले देखाएको दर्शन र योगदानलाई बिर्सन नहुने बताउँदै नेता शाहले आफ्नो विचारधारा र विश्वासको बाबजुद पृथ्वीनारायण शाह र उनको नीतिहरूबाट देश कसरी सञ्चालन गर्ने भन्ने कुरा पाठ सिक्नुपर्ने बताउनुभयो।

जात, धर्म र भुगोलका आधारमा भेदभाव बढेको भन्दै बर्तमान परिवेशमा राष्ट्रिय एकता, अखण्डता, स्वाधिनता र राष्ट्रियताका कुरामा राष्ट्र निर्माता शाहको सिद्धान्तलाई अगाल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

यतिवेला देशमा गरिबी, बेरोजगारी, अशिक्षा जस्ता तमाम समस्याहरु भएको भन्दै त्यसतर्फ सबैले विशेष ख्याल गर्नुपर्ने उहाँको भनाई रहेको छ । कुनै व्यक्तिको स्वार्थका लागि जनतालाई एक आपसमा लडाउन खोज्नु गलत्त भएको उहाँले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्रीले राष्ट्र निर्माता शाहलाई सम्झेर देखाएको यो उदारताले एक अर्काको सम्मानको भावनालाई जागृत गरेको उहाँले बताउनुभयो । आजका दिनमा नेपालीहरुलाई अनेक बहानमा विभाजन गर्न खोजिएको भन्दै सचेत हुनुपर्नेमा पनि उहाँको भनाई छ ।

जाजरकोटमा पनि आईतवार ठकुरी समाज सञ्जाल जाजरकोट र राप्रपाले पृथ्वी जयन्ती धुनधामका साथ मनाएका छन् । पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक विदा नदिईएको प्रति सर्मथक र कर्मचारीले असन्तुष्टि ब्यक्त गरेका छन् । हरेक वर्ष पुस २७ गते पृथ्वीनारायण शाहको जन्म दिनको अवसर पारेर पृथ्वी जयन्ती मनाउने गरिन्छ ।