‘निर्देशन हो भने मान्दिन, अनुरोध गर्ने हो भने सोचौँला’


न्युज अफ नेपाल, काठमाडौँ ।

साम, दाम र दण्डभेदको प्रयोगबाट उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई गलाउन नसकेपछि नेकपा नेतृत्वले माघ ६ गतेसम्म सभामुखको उम्मेदवार कुनै पनि हालतमा तोक्ने प्रतिवद्धताका साथ त्यसबेलासम्म संसद बैठक स्थगित गर्न उनी समक्ष अनुनय गरेको छ।

शनिबारको नेकपा केन्द्रीय सचिवालय बैठकले सभामुख निर्वाचन प्रक्रिया अघि बढाउन भन्दै तत्काल उपसभामुख पदबाट राजीनामा दिन निर्देशन दिएको २४ घण्टा बित्न नपाउँदै त्यसको खुला अवज्ञामा उत्रिएकी डा. तुम्बाहाङ्फेलाई आइतबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘परामर्श गर्न’ बालुवाटार बोलाएका थिए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उक्त बैठकमा ओली र प्रचण्ड मात्रै नभई रक्षामन्त्री ईश्वर पोखरेल र पार्टी महासचिव विष्णु पौडेल पनि सामेल थिए।

स्रोतका अनुसार सचिवालय निर्देशनको खुलेरै अवज्ञा गर्ने र परिआएमा महाअभियोग सामना गर्ने अडान लिएकी तुम्बाहाङ्फेले बैठकमा प्रवेश गर्ने बित्तिकै सोधेकी थिइन्, ‘मलाई निर्देशन दिन बोलाउनु भएको हो कि अनुरोध गर्न ?’

राजनीतिक वृत्त, सामाजिक सञ्जाल र संवैधानिक विज्ञहरुबाट आफ्नो अडानका कारण प्रशंसा पाउन थालेकी तुम्बाहाङ्फेले फेरि भनेकी थिइन्, ‘निर्देशन हो भने मान्दिन, अनुरोध गर्ने हो भने सोचौँला।’

नेकपाले सभामुखको उम्मेदवार चयन गर्न नसक्दा हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधि सभाले गति लिन सकेको छैन। तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको आरोपमा जेल परेपछि रिक्त सभामुख पदमा नेकपाले आफ्नै नेतालाई सभामुख बनाउन चाहेको छ। करिब ४ महिनादेखि प्रतिनिधिसभा सभामुखबिहीन छ। सरकारको निगरानी, कानुन निर्माण, संसदीय अनुगमन, बजेट पारित गर्नुपर्ने काम र संसदीय सुनुवाइ जस्ता महत्वपूर्ण जिम्मेवारी भएको प्रतिनिधि सभामा राजनीतिक बन्धक बनेको अवस्था छ।

सभामुख चयनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पटक पटकको संवाद असफल हुदै आएको छ। संवैधानिक व्यवस्था अनुसार एउटै पार्टीबाट सभामुख र उपसभामुख राख्न पाइँदैन। त्यसैले उपसभामुख तुम्बाहाङ्फेलाई नेकपाले राजीनामा गर्न आग्रह गरिरहेको छ। तर, उपसभामुख तुम्बाहाङ्फेले आफुलाई सभामुख बनाउने निर्णय नभएसम्म राजीनामा नदिने अडान लिइरहेकी छन्। शनिबार नेकपाको सचिवालयले उपसभामुखलाई राजीनामा दिलाउन निर्णय गरेको थियो।

तर, उनले राजीनामा दिन अस्वीकार गरेपछि आइतबार बिहान बालुवाटारमा ओली-दाहालसहितका शिर्ष नेताहरुबीच छलफल भयो। प्रधानमन्त्री ओली र अध्यक्षदाहालसहितको छलफलमा उपसभामुख तुम्वाहाङ्फे पनि प्रवेश गरेकी थिइन्। तर, ओली-दाहालसामू तुम्बाहाङ्फेले सभामुख बन्न आफ्नो अयोेग्यताको विवरण नेताहरुसँग मागेकी छन्। तुम्बाहाङ्फेले आफ्नो अडानबाट पछि नहट्ने संकेत देखाएपछि नेकपा अनिर्णीत बनेको छ। उपसभामुखलाई राष्टपति विद्यादेवी भण्डारीको साथले अडानमा कायमै रहन सहयोग मिलेको स्रोत बताउँछ।

सभामुखमा प्रधानमन्त्री ओली संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङलाई ल्याउले कसरतमा छन्। यता, पार्टी एकतापछि आफ्नो भागमा परेको सभामुख पद आफूनिकट नेताले पाउनुपर्ने प्रचण्डको धारणा छ। अध्यक्ष दाहालले सभामुखमा अग्निप्रसाद सापकोटालाई ल्याउन चाहेका छन्। तर, तत्कालीन माओवादी केन्द्रभित्र सभामुख आकांक्षी धेरै छन्। सापकोटासहित पम्फा भूसाल, ओनसरी घर्ती मगर, देव गुरुङ लगायत नेताहरुले सभामुखको चाहाना देखाएका छन्। ओली र दाहालबीच सभामुखको बिषयमा कुरा बाझिरहँदा उपसभामुख तुम्बाहाङ्फेको अडानले नेकपा अनिर्णीत बनिरहेको छ।