फेरी अर्को अग्लो पुल बन्दै


न्युज अफ नेपाल, पर्वत ।

अग्ला र लामा पुलले ख्याती कमाएको पर्वतमा फेरी अर्को उस्तै अग्लो र लामो पुल निर्माण हुने भएको छ । पर्वत सदरमुकाम कुश्मालाई छिमेकी जिल्ला बागलुङसँग जोड्ने गरी पुल बन्न थालेको हो । कुश्माको बडागाउँस्थित लभ्लीडाँडादेखि बाग्लुङ नगरपालिका–१४ नारायणस्थित कुकुरगाढेमा अर्को पुल बनाउनका लागि सर्वेक्षण गरिएको छ ।

करिव पाँच सय २५ मिटर लम्बाई र दुई सय मिटर उचाईमा निर्माण हुने पुलको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय पुर्वाधार विकास बिभागले सर्वेक्षण गरेको हो ।

कुश्माको ३ स्थानमा सर्वेक्षण गरिएकोमा उपयुक्त स्थानमा पुलको स्टिमेट गरिने सर्वेक्षणमा खटिएका इन्जिनियर हेमराज शर्माले जानकारी दिनुभयो । ‘तीनवटै स्थानबाट पाँच सय मिटरभन्दा धेरै लम्बाई देखिएको छ,’ उहाँले भन्नुभयो, ‘उपयुक्त लोकेसन छनोट गरेर डिजाइन दिन्छौं ।’ उहाँले कुश्माका बिभिन्न स्थानमध्ये लभ्लीडाँडास्थीत माउण्टेट भ्यू होटल साइडको क्षेत्र उपयुक्त हुनसक्ने बताउनुभयो ।

पर्यटकिय हिसावले पनि अत्यन्तै महत्वपुर्ण मानिने भएकोले पुल आवश्यक भएको स्थानीय अगुवाहरुले बताएका छन् । ‘अहिलेसम्म बनेका भन्दा यो पुल अग्लो र लामो हुन्छ,’ बलेवाका बलबहादुर पाठकले भन्नुभयो, ‘बागलुङ र कुश्मामा पर्यटनबाट समृद्धि चाहनेले यो पुललाई प्राथमिकतामा राख्नुपर्छ ।’ उहाँका अनुसार बागलुङ क्षेत्र नम्वर–१ का संघिय सांसद सुर्य पाठकको सक्रियतामा पुलको डिजाइन हुन लागेको हो ।

दुई ठुला नदीले घेरिएको कुश्मालाई अग्ला पुलले वारीपारीका बस्तीसँंग नजिक बनाउने क्रम अग्ला पुलकै कारण बढ्दो छ । दशकअघि बनेको कुश्मा–ज्ञादी पुलले कुश्मा र कटुवाचौपारी आसपासका बासिन्दालाई सुविधा पुगेपछि अहिले कुश्मामा आधा दर्जन आकाशे पुल बनिसकेका छन् । कालीगण्डकी र मोदी खोलाको बिचमा पर्ने कुश्मालाई एकातर्फ बागलुङ र अर्कोतर्फ कुश्माकै अन्य वडाहरुका साथै फलेबास नगरपालिका जोड्न धमाधम पुल बनिरहेका छन् ।

मुलुककै अग्लो दाबी गरिएको ३४४ मिटर लम्बाई र १३५ मिटर उचाईको कुश्मा–ज्ञाँदी पुल बनेको दशक नबित्दै कुश्मा आसपासमा उस्तै प्रकृतिका आधा दर्जन पुल बनिसकेका छन् । कुश्मा–मुडिकुवा, कुश्मा–कैया, खरेहा–अधिकारीफाँट पुल बनेर सञ्चालनमा आइसकेका छन् । कुश्मा–कैयाले कुश्मालाई बाग्लुङ नगरपालिकाको वडा नम्वर १४ लाई जोडेको छ । कुश्मा–मुडिकुवाले कुश्मा र फलेबास नगरपालिका जोडेको छ । कुश्मा–अधिकारीफाँटले कुश्माकै वडा नम्वर १० पिपलटारी जोडेको छ ।

कुश्माकै उपल्लो बजारबाट बञ्जीजम्प सहितको झोलुङ्गे पुल नीजि क्षेत्रबाट बन्दैछ । स्थानीय व्यवसायीहरुले करिव १५ करोडको लगानीमा पुल निर्माण गरेर बन्जी र स्काई साइक्लिङ लगयतका पर्यटकिय खेल सञ्चालनको तयारी थालेका हुन् । कुश्मा ७ खरेहा र कुश्मा ९ कटुवाचौपारीस्थीत अधिकारीफाँट जोड्नेगरि मोदीखोलामा पुल निर्माण भइसकेको छ ।

पर्वतकै कुश्मा १ पाङबाट बाग्लुङ बजार जोड्न ५४४ मिटर लामो र १६० मिटर उचाइको पुलको काम शुरु भइसकेको कुश्मा १ का वडाध्यक्ष देवेन्द्र सुबेदीले बताउनुभयो । उहाँका अनुसार यो पुल सिङ्गल स्पानबाट बन्ने पुलमा विश्वकै किर्तिमानी पुल बन्नेछ । पाँच करोडको स्टमेट अनुमान गरिएको यो पुल बनेपछि कुश्मा र बाग्लुङबासीलाई यात्रामा सहज मात्रै नभएर जिविकोपार्जनमा पनि धेरै सुधार आउने अपेक्षा गरिएको छ । नयाँ पुलसहित कुश्मा बजार आसपासमा अग्ला पुलको संख्या आठ पुग्ने छ ।