रेडक्रस पुलाचौरको १७औं उपशाखा–सभा तथा पाँचौं अधिवेशन


प्रताप बानियाँ, म्याग्दी ।

‘सेवा नै धर्म हो’ भन्ने मूल नारासहित नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको १७औं उपशाखा–सभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ । बेनी नगरपालिका–५, भीरमुनीमा आयोजित उपशाखा–सभा तथा अधिवेशनले शिव बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

उपशाखाको उपसभापतिमा मिना शाही, सचिवमा रेशमबहादुर बानियाँ, कोषाध्यक्षमा गिरेन्द्र बानियाँ, उपसचिवमा दिनेश बानियाँ र उपकोषाध्यक्षमा बलराम सुवेदी निर्वाचित भएका छन् । यसैगरी कार्यसमिति सदस्यहरुमा शान्ति शर्मा, डेकबहादुर खत्री, विरबहादुर खत्री, सृष्टि लामिछाने र लक्ष्मी शर्मा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत विष्णु रोकामगरले जानकारी दिइन् ।

उपशाखा–सभा तथा अधिवेशनको उद्घाटन गर्दै बेनपा–५, पुलाचौरका वडा अध्यक्ष लक्ष्मण बानियाँले रेडक्रस स्वयंसेवी संस्था भएकाले सामाजिक क्षेत्रमा क्रियाशिल हुनुपर्ने बताए । उनले आगामी दिनमा पनि रेडक्रसमार्फत विभिन्न सचेतनामूलक क्रियाकलापहरुलाई निरन्तरता दिन आग्रह गर्दै वडा कार्यालयको तर्फदेखि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

सोही कार्यक्रममा रेडक्रस म्याग्दी शाखाका उपसभापति अमर बानियाँले रेडक्रसको मूल धर्म नै स्वयंसेवा भएकोमा जोड दिँदै समुदायमा आपत्विपद् परेको समयमा सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा बेनपा–५, का वडा सदस्य रामप्रसाद सुवेदी, पुलाचौर गाविसका पूर्व उपाध्यक्ष भोजबहादुर कार्की, जनकल्याण माविका प्रधानाध्यापक कमलप्रसाद पौडेल र विशिष्ट सदस्य मिनबहादुर बानियाँले मन्तव्य राखेका थिए ।

सभाको उद्घाटनसत्रमा कार्यवाहक सभापति शिव बानियाँले संस्थागतसहित प्रगति र कोषाध्यक्ष गोविन्द बानियाँले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको अवसरमा यसअघि रेडक्रसमार्फत विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहेकालाई सम्मान गरिएको थियो ।