प्रतिनिधि सभाको बैठक सूचना टाँस गरी स्थगित


न्युज अफ नेपाल, काठमाडौँ ।

प्रतिनिधि सभाको आइतवार १ बजेका लागि बोलाइएको बैठक सभामुखको टुँगो लाग्न नसकेका कारण सूचना टाँस गरी स्थगित गरिएको छ ।

पुस ४ गतेबाट सुरु भएको प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्तर्गतको बैठक यसअघि ११ र १६ गते पनि सूचना टाँस गरी स्थगित भएको थियो । यसपटकको सूचनामा अर्को बैठक माघ ६ गते १ बजेका लागि डाकिएको छ ।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले यसअघि संसद बैठक बसाउनका लागि लगातार प्रयास गरे पनि बैठक बस्न सकेन । त्यसका लागि उपसभामुखले सत्तारुढ नेकपाका अध्यक्षद्वयलाई भेटेर विषय टुंग्याउन अनुरोध गरेकी थिइन् ।

त्यसपछि शनिबार बेलुका बसेको नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन आग्रह गरेको थियो । तर, उपसभामुखले सभामुखको टुंगो नलागेसम्म पदबाट राजीनामा नदिने अडान राखेकी छिन् ।

यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड र उपसभामुख तुम्बाहाङफे छलफलमा छन् । उम्मेद्वार चयनमा विवाद हुँदा सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक हुन सकेको छैन ।