म्याग्दीकाली सञ्चार सहकारीको १२औं साधारणसभा तथा पाँचौं अधिवेशन


प्रताप बानियाँ, म्याग्दी ।

म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित म्याग्दीकाली सञ्चार सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ । कुल ५ सय ३४ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी तीन करोड चारलाख ९९ हजार पाँचसय रुपैयाँ रहेको छ ।

सहकारीले गत आर्थिक वर्षमा आम्दानीतर्फ एक करोड ७३ लाख ९२ हजार तीनसय १९ र खर्चतर्फ एक करोड २४ लाख ६५ हजार एकसय १९ रुपैयाँ रहेको जनाएको छ । साधारणसभामा संस्थाका सचिव रामजीप्रसाद सुवेदीले प्रगति र कोषाध्यक्ष सुविन श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । २०६४ सालमा स्थापना भएको सञ्चार सहकारीले केबुल टिभी, इन्टरनेट सेवा र म्याग्दीकाली एफएम सञ्चालन गर्दै आइरहेको छ ।

साधारणसभाको अवसरमा संस्थाका तत्कालीन प्रवन्धक ध्रुवराज सुवेदी, लेखापाल लक्ष्मी बानियाँ, एफएमका सम्पादक सुरत केसी, सहसम्पादक ध्रुवसागर शर्मा, वरिष्ठ संवाददाता सन्तोष गौतम, कार्यालय सहयोगी नारायण सुवेदी र संस्थाको भवन निर्माण व्यवसायी घनश्याम पौडेल (ध्रुव)लाई सम्मानपत्र र मायाको चिनोसहित सम्मान गरिएको थियो । साधारणसभाको उद्घाटन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले सञ्चारमाध्यम लोकतन्त्रको गहना भएको हुँदा सत्यतथ्य र सन्तुलित समाचारजन्य गतिविधिहरु प्रसारण गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीका सचिवालय सदस्य राजकुमार थापा, नेपाली कांग्रेसका जिल्ला उपसभापति माधवप्रसाद रेग्मी, बेनपा–७, का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, जिल्ला हुलाक कार्यालय प्रमुख साधनाकुमारी श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य र शेयर सदस्य अम्बिक श्रेष्ठले मन्तव्य राखेका थिए ।

अधिवेशनले विजयकुमार श्रेष्ठको अध्यक्षतामा संस्थाको नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ । संस्थाको उपाध्यक्षमा रामजीप्रसाद सुवेदी, सचिवमा सुविन श्रेष्ठ, कोषाध्यक्षमा राजु बानियाँ, सहसचिवमा सुरत केसी र सहकोषाध्यक्षमा हेमन्त थापा निर्वाचित भएका छन् ।

यसैगरी सञ्चालक समितिको सदस्यहरुमा माधवप्रसाद रेग्मी, दिपक हमाल, दुर्गाराम सुवेदी, बालबहादुर महत, लिलाराम गौतम, महेन्द्र खत्री, ध्रुवराज सुवेदी, नारायण सुवेदी र नवराज पौडेल रहेका छन् । लेखा समिति संयोजकमा अमृतकुमार श्रेष्ठ, सदस्यमा विष्णु गौतम र अम्बिककुमार श्रेष्ठ चयन भएका छन् ।