प्याजको मूल्य घट्दो क्रममा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा आकाशिएको प्याजको मूल्य बिस्तारै घट्दै गएको छ। प्याजको उत्पादन बढ्नु तथा भारत र चिनियाँ प्याज भित्रिन थालेपछि नेपाली बजारमा प्याजको मूल्य घट्न थालेको हो।

गत पुस ७ गते प्याजको थोक मूल्य १ सय ९५ रुपियाँमा भएकोमा प्याज पुस २६ गते प्याजको मूल्य ४७ दशमलव १८ प्रतिशतले घटेर १ सय ३ रुपियाँमा कारोबार भएको कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार भएको कालिमाटी फलफूल तथा तरकारी विकास समितिका सहायक निर्देशक अर्जुन अर्यालले बताउनुभयो।

भारतबाट प्याज आउने क्रममा बढेपछि मूल्य घट्न थालेको उहाँले बताउनुभयो। उहाँका अनुसार भारतबाट दैनिक प्याज आउने गरे पनि नेपालको बजारलाई आवश्यकपर्ने प्याज आउन भने नसकेको अर्यालले जानकारी दिनुभयो।

सामान्य अवस्थामा नेपाली बजारमा दैनिकी ८० देखि ९० टन प्याज खपत हुने गरेको छ। तर, मूल्य बढेपछि खपत घटेर ४० देखि ४५ टनमा सीमित भएको थियो। नीतिगत रुपमा भारतले प्याजको निर्यात खुल्ला नगरेको भए पनि बजारमा भारतीय प्याज आउन थालेको अर्यालले बताउनुभयो।

कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार पुस २५ गते प्रतिकिलो १ सय १२ रुपियाँमा कारोबार भएको थियो।त्यसको अघिल्लो दिन १ सय १८ रुपियाँ, पुस २२ गते १ सय २८ रुपियाँ र अघिल्लो दिन १ सय ३१ रुपियाँमा कारोबार भएको थियो। खपत कम आपूर्ति बढी हुन थालेपछि बजारमा दिनहुँजसो प्याजको मूल्य घट्न थालेको व्यवसायीहरूले बताएका छन्।