वीरगन्जको पूर्वाधार विकासको लागि लगानी गर्न सरकार तयार

0
Shares

नेपाल समाचारपत्र, वीरगन्ज।

वीरगन्ज उद्योग वाणिज्य संघको ४४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले वीरगन्जको पूर्वाधार विकासको लागि लगानी गर्न सरकार तयार रहेको बताउनुभयो। वीरगन्जको सडकदेखि औद्योगिक करिडोरसम्मको निर्माणको लागि सरकार तयार रहेको उहाँको भनाइ थियो।

निजगढ विमानस्थलको विकल्प नरहेको बताउदै उहाँले वि.स. २०८१ सम्म फास्ट ट्रयाकको काम सम्पन्न हुने बताउनुभयो। अर्थ मन्त्रालयले बजेट समयमा निकास नगरेका कारण समयमै काम भएन भन्ने अवस्था नआउने विश्वाससमेत उहाँले दिलाउनुभयो।

कार्यक्रममा मन्त्री खतिवडाले प्रादेशिक तहबाट पनि विश्वविद्यालय खोल्न सकिने प्रावधान रहेकाले प्रदेश सरकारले त्यसतर्फ अगाडि बढ्नुपर्ने बताउनुभयो।

वीरगन्ज उद्योग वाणिज्यि संघका अध्यक्ष गोपाल केडियाको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी, नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष किशोर प्रधान, उद्योग वाणिज्य संघ प्रदेश नं. ३ का अध्यक्ष दिनेश श्रेष्ठलगायतकाले धारणा राखेका थिए।

कार्यक्रममा १३औं सागमा स्वर्ण जित्नेहरूलाई सम्मानित समेत गरिएको थियो। जुडेतर्फ स्वर्ण विजेता देवी खड्का, पुनम श्रेष्ठ, कुस्तीतर्फ नरेश यादव, राज यादव, सुनील साह, क्रिकेटतर्फ आरिफ सेख, रासिद खान र भारतोलनतर्फ विकास थापा, सरोज यादवलाई सम्मानित गरिएको थियो।