पृथ्वीनारायणलाई विस्तारवादी राजाको रूपमा चित्रित गर्न कसरत गर्नेहरूले उनको जीवनी र दिव्योपदेशको राम्ररी अध्ययन गर्न जरुरी छ। प्रायः युगपुरुषको जीवनमा केही घत लाग्दा घटना घटेको पाइन्छ। पृथ्वीनारायणमा पनि यो कुरा लागू हुन्छ। भनिन्छ।
राष्ट्रनिर्माणमा राज्यको विस्तार स्वतः अन्तर्निहित हुन्छ। स–साना राज्य, रजौटा, प्रदेश आदि अस्तित्वको संकटका कारण कि त एक–अर्कामा गाभिन पुग्छन् बा चाँडो या ढिलो छिमेकी ठूलो राष्ट्रमा विलय हुन पुग्छन्।
त्यो त सबैलाई थाहा भएकै कुरा हो। पृथ्वीनारायणको शालिक ढालेर, उनीप्रति अनास्था देखाएर नेपाली राष्ट्रियतालाई कमजोर पार्ने खेल कतै आयातीत विचारबाट अभिप्रेरित भएको त छैन ? प्रश्न गर्ने आधार नभएको होइन। राष्ट्रियता कमजोर भयो भने लोकतन्त्र पनि बलियो हँुदैन भन्ने कुरालाई हामीले मनन गर्न जरुरी छ।
नेपाललाई एकढिक्का अथवा एकीकृत अवस्थामा राख्न योगी गुरु गोरखनाथको प्रबल इच्छा भए पनि योगीले कुनै पनि राज्यमा शासन गर्न र राजकाज चलाउन नहुने स्थिति बुझेर आफ्नो चेलाबट यो अभियान सफल बनाउने दृढ इच्छा राखे।
सोही अनुरूप चेला पृथ्वीरारायण शाहलाई पृथ्वीको चक्रवर्ती राजा बनाउने इच्छा राखेर मन्त्रणा गरिएको दही खुवाए। तर बालक उमेरका पृथ्वीनारायणले दही मुखमा राखेर पेटमा नपुर्याई ओकल्दा उक्त दही खुट्टामा पर्यो। पेटमा नै पुगेको भए चक्रवर्ती राजा हुनेमा खुट्टामा मात्र परेकाले ‘अब तिमीले टेकेको ठाउँ तिम्रै अधीनमा हुनेछ’ भनी आशीर्वाद दिएर गोरखनाथ अन्तध्र्यान भए।
तसर्थ गोरखनाथको आशीर्वाद नै पृथ्वीनारायण शाहको ऊर्जाशक्ति र सफलताको द्योतक हो भन्ने गरिन्छ। जे होस्, पृथ्वीनारायणको यदय एउटा युगपुरुषको उदयमा पाइने शुभसंकेतबाट शुरू हुन्छ।
पृथ्वीनारायणको दिव्योपदेशभित्र पाइने अन्तर्दृष्टि र दूरदृष्टिबाट पनि भन्न सकिने कुरा के हो भने, उनको नेपाल एकीकरण अभियान एउटा अल्लारे युवक राजाको लहडबाट विस्तारवादी सोच लिएर गरिएको अभियान थिएन। त्यो त साम्राज्यवादी अंग्रेजी शक्तिसँग मुकाबिला गर्ने अठोटका साथ शुरू गरिएको दूरगामी साहसिक कदम थियो।
दक्षिण एसियामा एउटा शक्तिशाली राष्ट्रको रूपमा नेपाललाई स्थापना गर्ने अभिष्ट लक्ष्यबाट प्रेरित थियो। उनको दिव्योपदेशमा सुशासन र विदेश नीतिसम्बन्धमा गहिरो चिन्तन जुन पाइन्छ, आजसम्म पनि त्यत्तिकै सान्दर्भिक छ।
(१) ‘यो राज्य दुई ढुंगाबीचको तरुलजस्तो रहेछ। चीन बादशाहसित ठूलो घाहा (मित्रता) राख्नू, दक्षिणको समुद्रको बादशाहसित घाहा त राख्नू तर त्यो महाचतुर छ।’
अर्थात् उत्तर–दक्षिणका विशाल शक्ति र आर्थिकरूपले सम्पन्न देशको बीचमा रहेको सानो देश नेपालले दुवैतर्फ राम्रो मित्रताको व्यवहार राख्दै आफ्नो स्वतन्त्र अस्तित्व कायम राख्नुपर्छ भन्ने भविष्यवाणी हो यो। साथै यो कुरा कुनै पनि कालको शासकमा हुनुपर्ने राजनीतिक र कूटनीतिक सूक्ष्म दृष्टिको सूत्र हो भन्दा फरक पर्दैन।
त्यस बखत व्यापारको निमित भारत वर्षमा प्रवेश गरेको अंग्रेजले दक्षिण भारतबाट उत्तरतर्फ बढ्ने क्रममा नेपालको हिमालयतर्फ बढ्ने योजना बुनेका कुरा पृथ्वीनारायणले बुझेर ‘दक्षिण समुद्रको बादशाह महाचतुर छ’ भनेका थिए। साथै भारत र चीनलाई ढुंगा र नेपाललाई तरुलमा तुलना गरी ढुंगाले तरुल च्यापिन सक्ने भित्री आशय औंल्याएका थिए।
(२) ‘खानी भयाका ठाउँमा गाउँ भया गाउँ अरू जग्गामा सारीकन खानीको विकास गर्नू, खानी चलाउनू’ भन्ने वाक्यले देशलाई स्वावलम्बी वनाउने उद्देश्य राखेको पाइन्छ। शाहकै पालामा चन्द्रागिरि, फूलचोकी, महाभारत आदिमा खानी सञ्चालन गरी त्यहाँ उत्पादित माल बंगालतर्फ निकासी गरिएको र पछिल्लो समयमा खानीबाट उत्पादित फलामबाट गोर्खामा नै बन्दुक बनाउन थालिएको पाइन्छ।
(३) ‘प्रजा मोटा भया दरबार बलियो रहन्छ।’ पृथ्वीनारायण शाहको यो भनाइमा राज्य बलियो हुन जनतालाई नै सुख–समृद्धिमा राख्न सक्नुपर्छ भन्ने दूरगामी चिन्तन प्रकट छ। यो कुनै राजा र प्रजाबीचको मात्र कुरा होइन। यो कुनै पनि मुलुकको शासन शुद्ध बनाउन जनतालाई नै बलियो बनाउनुपर्छ भन्ने हो।
जनता सम्पन्नशाली र उद्यमी भएमा उनीहरूले कमाएको धनको केही अंश करको रूपमा सरकारी ढुकुटीमा दाखिल भई देश सम्पन्न तथा धनी हुन जाने भावना यहाँ व्यक्त भएको छ।
(४) ‘राजाले ठूलो नियानिसाफ हेर्नू, अन्याय मुलुकमा हुन नदिनू, नियानिसाफ बिगान्र्या भन्याको घूस दिन्या र घूस खान्या हुन्, यी राजाका महासतुर हुन्।’ यसको सार न्यायनिसाफ गर्ने दायित्व राजाको हो।
अर्थात् वर्तमान सन्दर्भमा सरकारकै अंग रहेको अदालतमा घूस लिने–दिने प्रथाले सही मानिसले सही न्यायनिसाफ पाउन सक्दैन। उनीहरू दुवै पक्ष राष्ट्रका शत्रु हुन्। यसलाई मनन गर्दा सरकारी अड्डा–अदालतबाट जनताले शुद्ध निसाफ पाउनुपर्छ।
पृथ्वीनारायण शाहको पहिचानलाई शाह वंशीय अन्य राजाहरूले गरेका दोष वा गलत कार्यको नजिरमा राख्ने परिपाटी नै गलत छ। वास्तवमा उनले नेपाल राष्ट्र निर्माण गर्न के–कस्तो कठोर परिश्रम गरे, दूरदृष्टि राखे, छरिएर रहेको भूगोललाई कसरी एकत्रित गरी चार वर्ण छत्तीस जातको फूलबारी बनाए, राज्य सञ्चालनको लागि के–कस्ता नीति र अमर वाणीहरू दिएर गए ?
आदि कुराको लेखाजोखा हुनुपर्छ। राजनीतिक स्वार्थबाट अभिप्रेरित भई द्वेष, आवेग, आवेश र पूर्वाग्रह राखेर आलोचना होइन, सत्यतामा रहेर राष्ट्रनिर्माताको सद्भाव पनि गरिनुपर्छ।