जनप्रतिनिधिले नै गराइदिए जबरजस्ती बिहे

0
Shares

सलिम अन्सारी, प्युठान।

मल्लरानी गाउँपालिका–१ सोलिथुङमा छिमेकी र स्थानीय जनप्रतिनिधिले देवर भाउजूको जबरजस्ती दोस्रो विवाह गराइदिएका छन्। स्थानीय रविना पुन मगरलाई नाताले आफ्नै देवर पर्ने लुकेन्द्र पुन मगरसँग उनीहरूले विवाह गराइदिएका हुन्।

रविनाको घरमा बसेर नास्ता खाँदै गरेका देवर भाउजूलाई विनाकारण अवैध सम्बन्ध रहेको आरोपमा उनीहरूको विवाह गराइएको हो। विदेश जान लागेका लुकेन्द्र २ गते साँझ भाउजूकहाँ झोला लिन पुगेका थिए।

उनीहरू घरभित्र रहेको मौका छोपेर जंगल जाँदै गरेका छिमेकी नाताले जेठाजु पर्ने सन्तबहादुर पुनले बाहिरबाट ताल्चा ठोकिदिए। रविना र लुकेन्द्रले सोही घरमा रात काट्नुपर्ने बाध्यता आइपर्यो।

बिहान उज्यालो भएपछि छिमेकी र वडाध्यक्ष चिन्ताबहादुर राहुँ, वडा सदस्य कमल पौडेल, देवकुमारी पुनले जबरजस्ती कागजमा हस्ताक्षर गर्न लगाई विवाह गरिदिएको रविनाले बताउनुभयो।

‘घरमा पाहुना आएका देवर र आफूलाई थुनेर जनप्रतिनिधि र छिमेकीले बिहे गराइदिए’, रविनाले भन्नुभयो– ‘मलाई त कागज पढ्नसमेत दिएनन्।’ १३ वर्षीय छोरा र ९ वर्षीया छोरीसँगै देवर र आफूलाई घरभित्रै थुनिएको रविनाले बताउनुभयो।

‘हाम्रो कुनै गल्ती छैन थिएन।’ –रविना भन्छिन्। जनप्रतिनिधिबाट नै दोस्रो विवाह गराइदिएपछि उहाँलाई श्रीमान् र समाजले एक्लो बनाएका छन्। भारतमा रहेका आफ्ना श्रीमान्ले आफ्नै भाइको घरमा लगेर समाजले राखिदिएको खबर पाएपछि आफूलाई नस्वीकार्दा छोराछोरीसहित अहिले माइतीघरमा बस्दै आएको रविनाले बताउनुभयो।

कानुनमै दोस्रोे विवाह गर्ने पाइँदैन भने पनि वडामार्फत भने बहुविवाहको सिफारिससमेत दिइएको स्थानीय नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो। वडाले अर्काको श्रीमती बिहे गरेको भन्दै देवर नाता पर्ने लुकेन्द्रलाई ३५ हजार जरिवानासमेत तिराएको छ।