खानेपानी पुगेपछि स्थानीय दंग

0
Shares

सर्लाही, (नेस)।

शुद्ध खानेपानीको हाहाकार भएको सर्लाहीको हरिवन नगरपालिका–१ केराबारीमा लिफ्टिङिको प्रयोगबाट गाउँमा खानेपानी धारा पुगेपछि स्थानीय खुसी भएका छन्।

हरिवन नगरपालिकाको आर्थिक वर्ष २०७५/०७६ को नगरस्तरीय योजानाबाट २५ लाख रुपियाँ र ४ लाख ५० हजार बराबरको जनश्रमदान गरी २९ लाख ५० हजारको लागतमा बोरिङबाट लिफ्टिङ गरेर केराघारीमा खानेपानी पुर्याएको हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिनुभयो।

गाउँमा खानेपानी पुर्याउन फट्टी खोलामा दुईवटा बोरिङ गाडेर ६० हजार लिटरको पक्की ट्यांकी निर्माण गरी मोटरको मध्यमबाट डेढ किलोमिटर माथि अर्को ५ हजार लिटरका दुईवटा प्लास्टिकको ट्यांकीबाट केराघारी गाँउमा खानेपानी पुर्याएको हो।

त्यस गाउँका ६५ घरधुरीका ४ सयभन्दा बढी स्थानीयले खानेपानी सुविधा पाएका छन्। हरिवन नगरपालिकाले आगामी योजनाहरूबाट खानेपानीको व्यवस्था, बाटोको, स्तरोन्नति, विद्यालय सुधारजस्ता योजनालाई वार्षिक नीति तथा कार्यक्रम बनाएर कार्यान्वयन गरिने नगर प्रमुख गणेश प्रसाईंले बताउनुभयो।

खानेपानीको सुविधा नहुँदा केराघारीका स्थानीय एक गाग्री पानी लिन दुई घण्टा लागाएर पाँच किलोमिटर हिड्ने गर्थे।चुरेका गाउँमा हिउँद लागेसँगै खानेपानीको हाहाकार हुन थालेको छ।

हरिवन नगरपालिकको बिल्नदी, कोटी खोला धिमिले डाँडामा, सखमुनी, मानेडाँडालगायतका गाउँमा अझै खानेपानीको सुविधा पुग्न सकेको छैन। पछिल्लो समय जिल्ला उत्तरी क्षेत्रमा भूमिगत पानीको स्रोत भासिएकाले खानेपानीको समस्या हुन थालेको छ।