सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने

0
Shares

विराटनगर, (नेस)।

प्रदेश १ सरकारले स्वस्थ जीवन प्रवद्र्धन अभियानअन्तर्गत आउँदो फागुन १ गतेदेखि प्रदेशका सबै सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको प्रयोगमा रोक लगाउने भएको छ।त्यस्तै प्रदेशका सबै सामुदायिक तथा निजी विद्यालयमा पत्रुखानाको प्रयोगमा पनि प्रतिबन्ध लगाउने तयारी गरेको छ।

विराटनगरका निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा सञ्चालकसँगको छलफलमा प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको प्रयोग रोक्ने र विद्यालयभित्र पत्रुखाना प्रयोगलाई प्रतिबन्ध लगाइने बताउनुभयो।

कानुन बनेको लामो समय भइसकेको अवस्थामा पनि ऐन कार्यान्वयनमा नगएकाले त्यसलाई फागुन १ गतेदेखि कडाइका साथ कार्यान्वायनमा लैजाने मन्त्री घिमिरेले बताउनुभयो।

स्वास्थ्य जीवन प्रवद्र्धन अभियानअन्तर्गत प्रदेश १ मा २० वर्ष उमेर समूहमाथिका सबैको ब्लड प्रेस जाँच गर्ने, एकपटक परीक्षणपछि उनीहरूलाई पटकपटक परीक्षणका लागि प्रोत्साहित गर्ने योजना पनि प्रदेश सरकारको छ।

त्यस्तै चिनी रोग र क्यान्सको परीक्षणलाई पनि नियमित गरी हरेक घरमा यो अभियान पुर्याउने सामाजिक विकास मन्त्रालयको योजना रहेको मन्त्री घिमिरेले जानकारी दिनुभयो।

विद्यालय सञ्चालकसँग भएको छलफलसँगै माघ ३ गते सुर्ती तथा सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रण गर्ने बारेमा अभियानको शुरुआत गर्ने तयारी भएको छ।

सामाजिक विकास मन्त्रालयले आयोजना गरेको छलफलका क्रममा विराटनगरका निजी विद्यालय सञ्चालकले सुर्ती, चुरोट तथा गुट्खाका कारण निकै समस्या भएको गुनासो गरेका थिए। यस्तो पदार्थको सेवनबाट बालबालिकालाई जोगाउनै मुस्किल भएको उनीहरूको भनाइ थियो।