जनप्रशासन संघमा बाँस्कोटा

0
Shares

काठमाडौं, (नेस)।

नेपाल जनप्रशासन संघको अध्यक्षमा पूर्वप्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा सर्वसम्मतिले चयन हुनुभएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले बाँस्कोटालाई अध्यक्ष निर्वाचित गरेको हो।

यस संघमा नेपालका प्रायः सबै वर्तमान र पूर्वसचिव तथा मुख्य सचिव, आयोगका प्रमुख आयुक्त र आयुक्तहरू तथा विश्वविद्यालयका प्राध्यापकहरू सदस्य रहेका छन्। संघको स्थापना २०४७ सालमा भएको हो।

अध्यक्ष पदको शपथ ग्रहण गरेलगतै नवनिर्वाचित अध्यक्ष बाँस्कोटाको अध्यक्षतामा सुशासन र विकाससम्बन्धी विशेष कार्यक्रम सम्पन्न भयो। सो कार्यक्रममा उहांँले नेपालको मुलुकी प्रशासनलाई समयसापेक्ष र चुस्त तुल्याउन संघले खबरदारी गर्ने कुरा बताउनुभयो।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री त्रिपाठीले आफू सुशासनको पक्षमा रहेको कुरा बताउनुभयो। सो कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठ, लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली, पूर्व आयुक्तद्वय सूर्यनाथ उपाध्याय र भोजराज पोखरेल तथा पूर्व गभर्नर दीपेन्द्रपुरुष ढकालले सुशासन र विकासको बहसमा वक्ताका रूपमा आ-आफ्नो विचार राख्नुभएको थियो।

कार्यक्रमको स्वागत संघका उपाध्यक्ष प्रा. यशोदा काप्mलेबाट भएको थियो भने बहस कार्यक्रमको सञ्चालन डा. हीरामणि घिमिरेबाट भएको थियो।