काठमाडौंमा विश्व हिन्दी दिवस सम्पन्न

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नेपालस्थित भारतीय राजदूतावास र त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हिन्दी केन्द्रीय विभागको संयुक्त आयोजनामा काठमाडौंमा शुक्रबार विश्व हिन्दी दिवस सम्पन्न भयो।

समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै नेपालमा हिन्दी भाषाको साहित्यिक र सामाजिक प्रभावका बारेमा प्रकाश पार्नुभएको थियो।

नेपालका लागि भारतका कार्यभार राजदूत डा. अजय कुमारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश पढेर सुनाएको सो समारोहमा विभिन्न साहित्यिक कृतिहरूको विमोचन भएको थियो।

हिन्दी केन्द्रीय विभागको शोध पत्रिका ‘साहित्यलोक’को विशेषाङ्क र बीपी कोइराला भारत–नेपाल फाउन्डेसन, भारतीय राजदूतावास, काठमाडौंको सहयोगमा प्रकाशित दुई हिन्दी तथा दुई नेपाली पुस्तकको पनि सोही कार्यक्रममा लोकार्पण गरिएको थियो।

ती पुस्तकमा हिन्दी केन्द्रीय विभागका विद्यार्थीद्वारा नेपालीमा अनुवाद गरिएका विश्व प्रसिद्ध हिन्दी कथाकार प्रेमचन्दद्वारा लिखित पाँच प्रसिद्व कथा एवं नेपालीमै अनुवाद गरिएको स्वामी विवेकानन्दको प्रसिद्ध पुस्तक ‘कर्मयोग’ समावेश छन्।

साथै, सोही समारोहमा हिन्दीमा अनुवाद गरिएका नेपालका राष्ट्र कवि माधवप्रसाद घिमिरेद्वारा रचित गीति नाटक ‘अश्वत्थामा’ एवं युवा तथा नयाँ नेपाली कथाकारहरूद्वारा लेखिएका २५ आधुनिक नेपाली कथाहरूको अनुदित सङ्ग्रह ‘उत्कृष्ट कहानियाँ’को पनि लोकार्पण गरियो।

सो समारोहमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौंका कलाकारहरूले प्रख्यात हिन्दी कविहरूका रचनाको साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए। कार्यक्रममा लेखक, पत्रकार, हिन्दी तथा नेपाली बुद्धिजीवी, प्राज्ञ र विद्यार्थीलगायतको सहभागिता थियो।