एकीकृत शहरी विकास योजना तर्जुमा कार्यशाला शुरू

0
Shares

भक्तपुर, (नेस)।

चाँगुनारायण नगरपालिकामा एकीकृत शहरी विकास योजना तर्जुमाका लागि तीन दिने कार्यशाला गोष्ठी शुरू भएको छ।शुक्रबारबाट नगरकोटमा शुरू भएको गोष्ठीमा चाँगुनारायण नगरपालिकाको दीर्घकालीन विकास सम्भावना, चुनौती र अवसरबारे गहन छलफल हुने नगरप्रमुख सोम मिश्रले बताउनुभयो।

कार्यक्रमको उद्घाटन गर्दै संघीय सांसद प्रेम सुवालले सन्तुलित विकास हुने गरी नगरपालिकाको एकीकृत शहरी विकास योजना बन्नुपर्ने बताउनुभयो।

तीव्र शहरीकरण भइरहेको सन्दर्भमा नेपालमा पनि विगत केही दशकदेखि अनियन्त्रित शहरी विकास देखिएको भन्दै उहाँले शहर र बस्ती विकासका लागि भौतिक विकास योजनाहरूको तर्जुमा धेरै पहिलेदेखि भई आए तापनि यसलाई कार्यान्वयनमा ल्याउन र शहरी विकास गर्न एकीकृत योजनाबद्ध शहरी विकासको आवश्यकता रहेको बताउनुभयो।

गोष्ठीले संरक्षित, समृद्ध तथा स्वस्थकर र व्यवस्थित नगरको विकास गर्नतर्फ बाटो देखाउने गरी योजना निर्माण गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिमिल्सिनाले बताउनुभयो।

कार्यक्रममा परामर्शदाता दिगो विकास र अनुसन्धान केन्द्रका परामर्शदाता तथा प्राविधिकहरूले नगरपालिकाको १५ वर्षे योजनाको समग्र विकासको खाका पेस गर्ने र सोमाथि बृहत् छलफल र परामर्श हुने र समग्रमा एउटा प्रारम्भिक गुरुयोजना तयार हुने नगरपालिकाले जनाएको छ।

नगरपालिकाका उपप्रमुख बिना बास्तोलाको स्वागतबाट शुरू भएको कार्यशाला गोष्ठीमा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुवँर, सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछाने, शहरी विकास योजनाविद् बाबुराम भट्टराईलगायत नगरका जनप्रतिनिधि, कर्मचारी राजनीतिक दल, बुद्धिजीवी, पत्रकार सामाजिक कार्यकर्ताको प्रतिनिधिमूलक सहभागिता रहेको छ।