मधूसुदन रायमाझी, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीले सभामुख चयन प्रक्रिया अगाडि बढाउन उपसभामुख बन्नुभएका डा.शिवमाया तुम्बाहाम्फेलाई राजीनामाका लागि निर्देशन दिएको छ।
संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख एउटै पार्टीबाट चयन हुन नपाउने प्रावधानका कारण नेकपाले सभामुख पद लिएर उपभामुख अन्य दललाई दिन उहाँको राजीनामा मागेको हो।
यद्यपि सभामुखको उम्मेदवारको विषयमा भने अझै कुनै निर्णय भएको छैन। प्रवक्ता श्रेष्ठले पनि यसबारे कुनै प्रतिक्रिया दिन चाहनुभएन। गत असोज दोस्रो सातादेखि सभामुख पद रिक्त रहँदै आएको छ। सत्तारूढ नेकपाले यसको टुंगो नलगाउँदा प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नसकेको छैन।
गत पुस ४ गतेदेखि बस्न नसकेको उक्त बैठक पुस ११ र १६ गते पनि सूचना टाँसेर स्थगित गरिएको थियो। उक्त बैठक आज आइतबारका लागि बोलाइएको छ।उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिए सभामुख चयनका लागि ढोका खुल्ने बताउँदै नेकपाका वरिष्ठ नेता झलनाथ खनालले भन्नुभयो– ‘उपसभामुखले राजीनामा नदिँदासम्म यो प्रक्रिया अगाडि बढ्न सक्दैन, राजीनामा दिएलगत्तै टुंगो लाग्छ।’
यसै विषयलाई लिएर शुक्रबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपसभामुख तुम्बाहाम्फेबीच भएको तीन घण्टा लामो छलफलमा अध्यक्षद्वय ओली र प्रचण्डले राजीनामा दिन गरेको आग्रहलाई तुम्बाहाम्फेले अस्वीकार गर्नुभएको थियो।
उहाँले आफू सभामुखका लागि योग्य रहेको बताउँदै निवर्तमान सभामुख कृष्णबहादुर महराले गरेको गल्तीको सजाय आफूलाई नदिन अध्यक्षद्वयलाई चेतावनी दिनुभएको थियो।
संवैधानिक व्यवस्थाअनुसार उपसभामुखबाट राजीनामा गर्न पार्टीको ह्वीप नलाग्ने प्रावधान छ। उपसभामुखले नेकपाको निर्णय नमाने महाअभियोग लगाएर हटाउनुपर्ने हुन्छ।

नेकपाको सचिवालय बैठकले राजिनामा दिन निर्देशन दिए पनि उपसभामुख तुम्बाहाम्फेले पार्टी निर्णय आफूलाई थाहा नभएको जीकिर गर्दै सभामुख बन्ने सुनिश्चितता नभएसम्म राजिनामा नदिने अडान लिनुभएको छ।











प्रतिक्रिया