नेपाल समाचारपत्र, काठमाडौं।
नेपालमा चार पांग्रे सवारी चालक अनुमतिपत्र लिने व्यक्तिको शैक्षिक योग्यता एसइइ वा सो सरहको हुनुपर्ने भन्दै आवाज उठिरहेको बेला रेल्वे सेवा सञ्चालनका लागि ल्याइएको विधेयकमा भने रेल चालक र सहचालकको शैक्षिक योग्यता तोकिएको छ।
हाल राष्ट्रिय सभामा दर्ता भई छलफलमा रहेको रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रेल चालक र सहचालकको शैक्षिक योग्यता कम्तीमा माध्यमिक तह (दश जोड दुई) वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने शैक्षिक योग्यता तोकिएको हो।
विधेयकमा रेल चालक वा सहचालकको योग्यता दफा २३ मा उल्लेख गरिएको छ। सोही दफाको उपदफा १ को (क) मा ‘कम्तीमा माध्यमिक तह (दश जोड दुई) वा सोसरह उत्तीर्ण गरेको’ छ।
त्यस्तै नेपाल रेल्वे ‘बोर्डबाट मान्यता प्राप्त प्रशिक्षण संस्थाबाट रेल चलाउन योग्य भएको प्रमाणपत्र प्राप्त गरेको, रेल चालकको हकमा कम्तीमा पाँच वर्ष सहचालकको रुपमा काम गरेको योग्यता तोकिएको छ।
त्यस्तै विधेयकमा उमेर हद, स्वास्थ्य अवस्थालगायत विभिन्न व्यवस्था राखी चालक वा सहचालकको अनुमतिपत्र प्राप्त गर्न नसक्ने सोही दफाको उपदफा २ मा उल्लेख गरिएको छ। जसअनुसार रेल चालकको हकमा २५ वर्ष र सहचालकको हककमा २० वर्ष उमेर नपुगेको र पचास वर्ष उमेर पूरा भएको व्यक्तिले अनुमतिपत्र प्राप्त गर्न सक्ने छैन भनिएको छ।











प्रतिक्रिया