वातावरणमैत्री सडक बनाउन स्थानीय तहले बनाए निर्देशीका


मानबहादुर बोहरा, बझाङ ।

बझाङका स्थानीय तहहरुले वातावरण मैत्री सडक निर्माण गर्न अग्रसरता देखिएका छन । जथाभावी डोजर चलाएर सडक निर्माण गर्दा ठुलो परिमाणमा आर्थिक र वातावरणिय क्षती गराएको भनेर आलोचना खेपिरहेका बेला बझाङका चार वटा स्थानिय तहले वातावरण मैत्री ग्रामिण सडक निर्माण निर्देशिका नै लागु गरेर अव्यवस्थित सडक निर्माणको श्रृङखला रोक्ने पहल थालेका हुन ।

जिल्लाको जयपृथ्वी नगरपालिका, तल्कोट, छविस पाथीभेरा र थलारा गाउँपालिकाले निर्देशिका नै तयार गरेर ग्रामिण सडक निर्माणको कामलाई नियमन गर्ने प्रयास थालेका हुन । ‘सुरुमै बुद्धी नपुग्दा ठुलो क्षती व्यहोर्नु पर्यो’ तल्कोट गाउँपालिकाका अध्यक्ष लालबहादुर विस्टले भने ‘अव थप क्षती नहोस भन्नका लागि निर्देशिका नै तयार गरेर लागु गर्न लागेका हौ’ उनले अव बन्ने सडकमा अत्यन्तै आवश्यक ठाउँमा बाहेक डोजर संचालन नगरिने गरी निर्देशिका तयार गरिएको बताए ।

जयपृथ्वी नगरपालिकाका प्रमुख विरेन्द्रबहादुर खड्काका अनुसार अव बन्ने प्रत्येक सडकमा प्राविधिक अध्ययन सहित वातावरणिय जोखिम र यसको न्युनिकरणको योजना तयार गरिसके पछि मात्र सडक निर्माणको काम थालिने प्रावधान निर्देशिकामा राखिएको छ । ‘अव सडकको सर्वे डिजाइनमा इन्जिनियर मात्र नभई भुर्गभविदको पनि सहभागिता सुनिश्चित गर्ने प्रावधान राखेका छौ’ खड्काले भने ‘हामीले नयाँ बन्ने सडक मात्र नभई ट्रयाक खोलेका सडकहरुलाई पनि वातावरण मैत्री प्रविधीबाट स्तरउन्नती गर्ने गरी निर्देशिका तयार गरेका छौ’ यस अघी जथाभावी सडक निर्माण गर्दा जिल्लामा अपुरणिय क्षती भैसकेकोले आगामी दिनमा पुर्ण सावधानीका साथ सडक बनाउनका लागि निर्देशिका तयार गरिएको उनको भनाई छ ।

चार वटा स्थानिय तहको संयुक्त अनुरोधमा वातावरण मैत्री पुर्वाधार निर्माणको क्षेत्रमा विज्ञता भएको संस्था स्कट वेल्सन नेपालका वातावरण मैत्री पुर्वाधारविदहरुले यो निर्देशिकाको मस्यौदा तयार गरेको छविस पाथिभेरा गाउँपालिकाका अध्यक्ष अक्कल बहादुर धामीले बताए । उनले भने ‘वहाँहरुले तयार गरेको मस्यौदालाई हामीले टोल देखी गाउँपालिका स्तर सम्म छलफल गरी सुझाव समेत संकलन गरेका छाँै । सबै क्षेत्रबाट आएका सुझावहरु समेत समेटेर अरु स्थानिय तहको संयुक्त बैठकबाट निर्देशिकालाई अन्तिमरुप दिएका हौँ ।’ पानी परियोजनाको आर्थिक सहयोगमा चार वटै स्थानिय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु, प्राविधिक र वातावरण समितीका पदाधिकारीको संयुक्त कार्यशालाले दुइ दिन सम्म दफावार छलफल गरेपछि निर्देशिकालाई अन्तिमरुप दिइएको उनले बताए ।

वातावरण मैत्री ग्रामिण सडक निर्माण निर्देशिका नै लागु गर्ने मध्यको एक थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले प्रत्येक सडक, अव हरित सडक हेने बताए । उनले भने, ‘सडक खनेको ठाउँमा माटो बग्न नदिनका लागि बाँस, अम्रिसो तथा माटो अड्याउने खालका फलफुल र जडिबुटीका विरुवा रोपेर आयआर्जन बढाउने गतिविधीहरु संचालन गर्ने गरी योजना बनाइने छन् ।’

पानीका मुहान, बस्ती क्षेत्र, वनजंगल, ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थानहरु भएका ठाउँमा सडक निर्माण गर्दा त्यसका सकारात्मक र नकारात्मक पक्षको विषयमा विस्तृत अध्ययन र व्यापक छलफल गरिसेपछी मात्र सडक निर्माणको कार्य अघि वढाउनु पर्ने व्यवस्था पनि निर्देशिकामा गरिएको छ । यस्तै निर्माण गर्नु पुर्व वातावरण मैत्री सडक निर्माणका लागि उपभोक्तालाई स्पष्ट अभिमुखिकरण गर्ने, सडक योजना वातावरण मैत्री भए नभएको वारेमा नियमित आन्तरिक र विज्ञहरु सम्मिलित तेस्रो पक्षको समेत अनुगमन गरिसके पछि मात्र अन्तिम भुक्तानी दिने प्रावधान समेत राखिएको छ ।

नागरिकको पुर्ण सहभागितामा स्थानीय स्तरमा वातावरणमैत्री तथा दीगो सडक डिजाईन तथा निर्माण सुनिश्चित गर्नका लागि संघीय, प्रादेशिक र स्थानीय सरकारले व्यवस्था गरेका प्रचलित नीतिनियमलाई थप सरलीकरण गरेर निर्देशिका तयार गरिएको वातावरणमैत्री पुर्वाधारविद सन्तोष पन्थीले बताए । ग्रामीण सडक निर्माणका प्राविधिक (ईन्जिनियरिङ्ग) र वातावरणीय पक्षलाई एकीकृत गरी दीगो तथा जलवायू समानुकूलित सडक निर्माण गर्ने तथा स्थलिय तथा जलीय जैविक विविधतालाई असर नपार्ने खालको सडक बनाउने सरल उपायहरु निर्देशिकामा समेटिएको उनको भनाई छ ।

नेपाल सरकारको वातावरणमैत्री सडक निर्माणका नीतिगत तथा प्राविधिक पक्षलाई कार्यान्वयनमा सहजीकरण गर्न स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम यो निर्देशिका तयार गरिएको र सडक निर्माण कार्यमा स्थानिय श्रोत सिप र प्रविधीको प्रयोग गर्दै रोजगारी प्रर्वद्धन गर्ने उद्देश्य राखिएको बताइएको छ ।