भित्री गल्लीमा आगो निभाउन जडान गरिएका पाइप लाइनको सफल परीक्षण


न्युज अफ नेपाल, काठमाडौं ।

दमकल जान नसक्ने गल्लीमा सम्भावित आगलागी नियन्त्रणका लागि जडान गरिएका पाइप लाइनको सफल परीक्षण गरिएको छ । महानगरको वडा २५ मांस गल्ली केलटोलदेखि महाबौद्ध जाने गल्लीसम्म बिछ्याइएको ४ इञ्चे फलामे पाइपबाट परीक्षण गरिएको हो । परीक्षणका क्रममा काठमाडौं दमकलबाट साइरन बजाउँदै आएका दमकल जनवहाल चोकमा रोकिए ।

त्यस चोकबाट करीब १०० मिटरभित्र अग्लो घरको चौथो तलामा धुवाँ आइरहेको थियो । अग्नि नियन्त्रकहरुले मांसगल्लीको मुखैमा छेउमा भएको फलामे पाइप (इनलेट) मा पाइप जोडे । त्यसपछि कुददै गएर अगाडि रहेको गल्लीमा भएको ड्राइराइजर (नियमित पानीको प्रेसर नभएको, दमकलको पानी राखेर प्रयोग गर्नुपर्ने ठाउँ) मा पाइप जोडे । यति गरेपछि दमकलमा भएको पानी १०० मिटर परको सानो चोकमा पुग्यो । यो पानीको प्रयोग गरेर उनीहरुले घरको चौथो तलामा लागेको आगो निभाए ।

यस क्रममा चोकबाट माथितिर पानी हानिएको थियो भने चौथो तलामै पाइप पुर्याएर पनि आगो नियन्त्रण गरिएको थियो । करीब २०० मिटर लामो यस प्रणालीको बीचका ८ ठाउँमा ड्राइराइडर राखिएका छन् । आगलागीका समयमा आवश्यकताअनुसार उपयुक्त ड्राइराइडरमा आगो नियन्त्रणका समयमा प्रयोग हुने पाइप जोड्न सकिनेछ ।

प्रयोगका समयमा चौथो तलामा आगोबाट घाइते भएका बिरामीलाई अग्नि नियन्त्रकहरुले उद्धार गरेका थिए । उद्धार गरिएका बिरामीलाई भुइँमा पु¥याएर प्राथमिक उपचार गरिएको थियो भने त्यसपछि स्टेचरमा राखेर चोकमा निकालिएको थियो । चोकमा एम्बुलेन्स तयार थिए । बिरामीलाई त्यही एम्बुलेन्समा राखेर थप उपचारका लागि अस्पताल पठाइएको थियो ।

वडा २५ ले गरेको यो प्रयोगमा स्थानीयले बार्दली र छतबाट अवलोकन गरेका थिए । यो प्रणाली नेपाल रेडक्रस सोसाइटीको उत्थानशील नगर प्रबर्धन तथा सहभागिता कार्यक्रमको ५ लाख रुपैयाँ, वडा २५ को विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिबाट २ लाख रुपैयाँ, संघ संस्था र उपभोक्ताको २ लाख ४० हजार ६१२ रुपैयाँ गरी कुल ९ लाख ४० हजार ६१२ रुपैयाँमा केल मांसगल्ली उपभोक्ता समितिले जडान गरेको हो ।

प्रयोग शुरुवात्मा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले इनलेटको मुख खोल्नुभएको थियो । मेयर शाक्यसहित भित्री वडाका वडाध्यक्षहरुले प्रयोगको अबलोकन गर्नुभएको थियो ।

अग्नि नियन्त्रण पाइप लाइन प्रयोगको परीक्षणपछि आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रमुख शाक्यले भन्नुभयो — बिपद् क्षति न्युनीकरण र विपद् व्यवस्थापन महानगरको उच्च प्राथमिक काम हो । हामीले हरेक नगर सभामा यसका बारेमा गहन छालफल गर्छौं र आवश्यक नीति बनाउने गरेका छौं । दमकल पुग्ने ठाउँ र दमकल पुग्न नसक्ने दुवै ठाउँको आगो नियन्त्रण गर्न छुट्टाछुट्टै नीति अन्तर्गत काम भइरहेको छ ।

उहाँले थप्दै भन्नुभयो — हामीले दमकललाई नयाँसडकबाट विस्तार गरेर वडा ६ सम्म पु¥याएका छौं । अब केही दमकल खरिद गर्दैछौं भने बिरामीको बाटामा हुने मृत्युलाई घटाउन नेपाल एम्बुलेन्स सेवासँग सहकार्य गरेर आधुनिक एम्बुलेन्स सञ्चालन गरेका छौं । कार्यक्रममा बोल्दै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले — महानगर बिपद्का समयमा आवश्यक पर्ने सामाग्री तथा उपकरणलाई वडास्तरमा भण्डारण गर्ने योजनामा रहेको बताउनुभयो । बिपत्ति परेका बेला खोज तथा उद्धार र राहतको प्राथमिक कामका लागि कतै जान नपरोस्, उपप्रमुख खड्गी श्रेष्ठको भनाइ थियो ।

यो कार्यक्रमलाई भित्री सहरी क्षेत्रमा क्रमशः विस्तार गर्दै लानु पर्छ । कार्यक्रममा वडाध्यक्षकातर्फबाट धारणा राख्दै वडा २७ का अध्यक्ष चिनियाँमान बज्राचार्यले भन्नुभयो — यस प्रणालीलाई अब क्रमशः अन्य भित्री सहरी ठाउँमा पनि बिस्तार गर्दै लैजानुपर्छ । सबै गल्लीमा दमकल जान नसक्ने भएकोले यसको महत्ब धेरै छ । बिपत्ति सोधेर आउँदैन ।

कार्यक्रममा धारणा राख्ने क्रममा वडा २५ का अध्यक्ष एवं महानगरको बिपद् व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले भन्नुभयो — हामी बिगतको दुःख चाँडै बिर्सिन्छौं । मान्छेलाई जुनबेला पनि र जस्तोसुकै खालको पनि आपत् आइपर्न सक्छ । अझ भित्री सहर त आगलागीको दृष्टिले अति नै जोखिमपूर्ण छ । अब हामी जोखिक क्षति व्यवस्थापनको कामलाई तीब्र बनाउँछौं । नगरबासीलाई सुरक्षित छौं भन्ने अनुभूति दिलाउँछौं ।