प्रदेश-३ को राजधानी र नामको अन्तिम निर्णय आज

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

देशको केन्द्रसमेत रहेको प्रदेश–३ को प्रदेशसभा बैठकले आज (आइतबार) राजधानी हेटौंडा र नाम ‘बागमती’ रहने गरी प्रदेशसभाबाट पारित गर्ने भएको छ ।

उक्त बैठकले यसबारे सम्भवतः अन्तिम निर्णय लिनेछ । प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले आइतबार विहान ९ बजेसम्मका लागि बैठक स्थगित गरिएको बताउनुभयो ।

आइतबार स्थायी राजधानी र नाम टुंगो लगाउन मतदान गर्ने प्रदेशसभा सचिवालयको तयारी छ । प्रस्ताव निर्णयार्थ पेश भएपछि प्रदेशसभा सदस्यले वर्णानुक्रमअनुसार ‘हुन्छ’ र ‘हुँदैन’ भन्ने दुई लाइनमा दस्तखतसहित मतविभाजनपछि मतपरिणाम घोषणा हुनेछ । राजधानी टुंगो लागेपछि सोही विधिद्वारा नामको टुंगो लगाइनेछ । प्रदेशसभा गठन भएको झण्डै दुई वर्षपछि प्रदेशले नाम र स्थायी राजधानी पाउने भएको हो ।

नेकपा सचिवालयले प्रदेशको राजधानी हेटौंडा र नाम ‘बागमती’ राख्ने निर्णय गरेसँगै हतारहतारमा गत मंगलबार मतदान गर्ने गरी प्रारम्भिक खाका ल्याइएको थियो । तर, आफ्नै दलका असन्तुष्ट सांसद्का कारण नेकपा निकै अप्ठेरोमा परेको थियो । यसका कारण सचिवालयले नेताहरुलाई काठमाडौंमा बोलाएर पुनः निर्देशन दिनुपरेको थियो ।

संसदीय दलको बैठकमा विशेषतः काभ्रेका सांसद्हरुले पार्टी केन्द्रीय नेतृत्वले गलत निर्णय गरेको दाबी गरेका थिए । प्रदेशको स्थायी राजधानी र नामसम्बन्धी प्रस्तावमा शनिबार छलफल भएको थियो । आइतबार विहान ९ बजे मतदान प्रक्रिया सुरु गर्ने कार्यतालिका बनाइएको छ । प्रदेशको स्थायी राजधानी र नामाकरण गर्न दुई तिहाइ बहुमतबाट प्रस्ताव पारित गर्नुपर्ने संविधानमा व्यबस्था छ ।

शनिबार प्रदेशको स्थायी राजधानीका लागि हेटौंडा र काभ्रेको धुलिखेल गरी दुई स्थानको प्रस्ताव दर्ता भएका थिए । प्रदेश राजधानीको स्थान र नामाकरणका लागि प्रस्ताव माग गरिएकोमा प्रदेशसभा सचिवालयमा शनिबार हेटौंडा र धुलिखेलको नाम प्रस्ताव दर्ता भएका हुन् ।

प्रदेशको राजधानी हेटौंडा र नाम ‘बागमती’ राख्ने नेकपा र कांग्रेससहित ६ दलले प्रदेशसभामा संयुक्त प्रस्ताव दर्ता गरेका हुन् । प्रदेशको स्थायी राजधानीमा हेटौंडाका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता एवम् मुख्यमन्त्री डोरमणि पौडेल प्रस्तावक रहेर प्रस्ताव दर्ता गरिएको हो ।

प्रस्तावको समर्थकमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राष्ट्रिय प्रजातन्त्र पार्टीकी रीता माझी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) की रीना गुरुङ हुनुहुन्छ । नाम र राजधानीबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस एकै ठाउँमा उभिएका छन् ।

विवेकशील नेपाली दलका रमेश पौड्याल प्रस्तावक तथा साझा पार्टीकी शोभा शाक्य र विवेकशील नेपाली दलका विराजभक्त श्रेष्ठको समर्थनमा धुलिखेल राजधानीका लागि प्रस्ताव दर्ता गरिएको छ ।

प्रदेशको नामाकरणका लागि एकल प्रस्ताव ‘बागमती’ दर्ता भएको छ । नेपाली कांग्रेसले प्रदेशको नामाकरणका लागि गरेको प्रस्तावमा एकमात्र प्रस्ताव परेको हो । प्रदेशको ‘बागमती’ नामाकरणका लागि कांग्रेस संसदीय दलका नेता बानियाँ प्रस्तावक रहेको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको प्रदेशसभा सभामुख श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदेशको ‘बागमती’ नामाकरण गर्न गरिएको प्रस्तावमा नेकपा मुख्य सचेतक फुयाँल, विवेकशील नेपाली दलका पौड्याल, साझा पार्टीकी शाक्य, राष्ट्रिय प्रजातन्त्र पार्टीकी माझी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) की गुरुङ समर्थक हुनुहुन्छ । २ सांसद् रहेको नेमकिपा भने मौन देखिएको छ ।

यसअघि सदनमा ‘गौरीशंकर’, ‘नेवाः ताम्सालिङ’, ‘नेपालमण्डल’ र ‘पशुपति’ लगायत नाम प्रदेशसभा सदस्यहरुले दर्ता गराउनुभएको थियो । अब ती सबै प्रस्ताव छायामा परेका छन् ।

प्रदेशसभाका नेकपाका सभामुखसहित ८० जना, कांग्रेसका २२ जना, विभाजन पूर्वको विवेकशील साझा पार्टीका ३, राप्रपा र राप्रपा संयुक्तका १/१ जना प्रदेशसभा सदस्य हुनुहुन्छ । स्वतन्त्रतर्फ १ प्रदेशसभा सदस्य रहनुभएको छ । प्रदेशसभामा रहेका १ सय १० सदस्यमध्ये हेटौंडालाई राजधानी बनाउने पक्षमा १ सय ७ सदस्य छन् । कुल ७४ मत भए राजधानी तोक्न बहुमत पुग्छ ।

प्रदेशको नेपाली कांग्रेस संसदीय दलले प्रदेशको स्थायी राजधानीको पक्षमा मतदान गर्न ह्वीप जारी गर्ने भएको छ । कांग्रेस संसदीय दलको शुक्रबार हेटौंडामा बसेको बैठकले प्रदेश राजधानी पक्षमा आफ्ना प्रदेशसभा सदस्यलाई ह्वीप जारी गर्ने निर्णय गरेको हो ।

कांग्रेस संसदीय दलका सचेतक छिरिङ दार्जेलामाले दलको बैठकले प्रदेशको स्थायी राजधानीको पक्षमा मतदान गर्न ह्वीप जारी गर्ने निर्णय गरेको जानकारी दिनुभयो । प्रदेशसभामा नेकपा र कांग्रेसको सहमतिपछि प्रदेश राजधानी हेटौंडा हुने करिब पक्का भइसकेको छ । किनकि, बलियो दुई तिहाइ रहेको सत्तारुढ नेकपासहित मुख्य दल राजधानी हेटौंडा र नाम ‘बागमती’ बनाउन एकमत भइसकेका छन् ।

सचिवालयमा प्रस्ताव दर्तापछि मुख्यमन्त्री पौडेलले सञ्चारकर्मीसँग हेटौंडालाई स्थायी राजधानी बनाउन साझा सहमतिका आधारमा प्रयास गरिएको र सबै दलसँग सहमतिका लागि वार्ता भइरहेको बताउनुभयो । प्रतिपक्ष नेपाली कांग्रेसका नेता बानियाँले प्रदेशको राजधानी हेटौंडालाई बनाउन सबैले व्यक्तिगत आग्रह/पूर्वाग्रह त्यागेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेकपाका सचेतक फुयाँलले यो ऐतिहासिक विषय भएकोले सबै दलको सहमतिमा टुंगो लगाइने बताउनुभयो ।