विद्यालयको आर्थिक हिसाब सार्वजनिक गर्न तालाबन्दी

0
Shares

सुभेन्द्र दास,लाहान ।

लक्ष्मीपुर पतारी गाउँपालिका–५ पथलगारा स्थित आधारभूत विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षले तालाबन्दी गरेका छन् । अध्यक्ष विजय कुमार यादवले अध्यापन मा सुधारका साथै विद्यालयको आर्थिक हिसाब सार्वजनिक गर्न माग गर्दै बुधबार तालाबन्दी गरेका हुन्। तालाबन्दी पछि शिक्षकले हाजिरी गर्न नपाए पनि पढँइ भने नियमित भईरहेको छ ।

अध्यक्ष यादवले गत पुस १३ गते विद्यालकयको प्रशासन कक्षमा ताला लगाएका छन्। एक हप्ता शीतलहरमा बिदा गरिएको थियो। आइतबार देखि विद्यालय खुले पनि ताला खुलेको छैन। भवन निर्माण र खाजा कार्यक्रममा प्रधानाध्यापक राजदेव यादवले अनियमितता गरेको अध्यक्ष यादवको आरोप छ।

कक्षा १ देखि ५ सम्ममा १७२ जना विद्यार्थीले नामाकंन गराएका छन्। जसमध्ये अधिकांश दलित समुदायको रहेको यादवले बताए।
‘०७४ सालमा विद्यालयमा दुइ कोठे भवन फर्निचर सहित निर्माणमा भ्रष्टाचार भएको छ। खाजामा विद्यार्थीलाई मापदण्ड विपरित चाउचाउ र बिस्कुट दिने गरिएको छ,’ अध्यक्ष यादवले भने, ‘प्रअ लगायत शिक्षकहरू नियमित नहुँदा नियमित पढाइ पनि हुँदैन।’

विद्यालयको आय–व्यय विवरण र गतिविधि अभिभावक भेला गरी सार्वजनिक गर्नुपर्ने उनको माग छ।यस विद्यालयमा आर्थिक वर्ष ०७३/०७४ मा दुई कोठे भवन फर्निचर सहित १७ लाख ९९ हजार १५३ रुपैयाँ लागतमा निर्माण भएको छ। बनेको एक वर्ष नपुग्दै भवनको पलास्टर उप्किन थालेको छ। पूरा फर्निचर अहिले सम्म खरिद गरिएको छैन।

विद्यालयमा दुई वर्षदेखि सामाजिक परिक्षण पनि भएको छैन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्षले सहयोग नगर्दा ढिलाई भएको प्रअ यादवले बताए। तालाबन्दी खुलाउन े प्रयास भइरहेको उनले सुनाए। एक महिना भित्रै आय–व्यय सार्वजनिक गर्ने उनको भनाइ छ।