बुटवलमा ४२ किलोमिटरको खुल्ला जीतगढी म्याराथुन शुरु ,रक्षामन्त्री पोखरेलद्धारा शुभारम्भ

564
Shares

यमलाल भुसाल,बुटवल ।

नेपाली सेनाको आयोजनामा शनिबार बुटवलमा खुल्ला जीतगढी म्याराथुन प्रतियोगिता शुरु भएकोे छ । म्याराथुनको उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले एक समारोहका बीच शुभारम्भ गर्नुभयो ।

सो अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेशका अन्य मन्त्री ,मध्य पश्चिम पृतनाका पृतनापति सिताराम खड्का, लगाएका हजारौको कार्यक्रममा सहभागिता रहेको छ ।

राष्ट्रिय एकता दिवसको अवसर पारेर नेपाली सेनाको मध्यपश्चिम पृतना बुटवलले ऐतिहासिक जीतगढी किल्लाको प्रवद्र्धन र नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर खुल्ला म्याराथुन प्रतियोगिता आयोजना गरेको होे ।

नेपाल र नेपाली सेनाको ईतिहास प्रवद्र्धन गर्न, नेपाली सेनाले अंग्रेजी फौजमाथी विजय प्राप्त गरेको स्थल जीतगढी किल्लाको ऐतिहासिक महत्वलाई उजागर गर्न र त्यसको प्रचार प्रसार एवं संरक्षणकालागि मध्यपश्चिम पृतनाले ‘भिक्टोरी म्याराथुन र युनिटी रन’ जीतगढी म्याराथुन प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा ३ हजार ५ सयको सहभागिता रहेको छ । फूल म्याराथुन ४२ किलोमिटर, हाफ म्याराथुन २१ किलोमिटर, १० किलो मिटर र ५ किलोमिटर (वाक) हुने उक्त प्रतियोगिताकालागि जनप्रतिनिधी ,बिद्यार्थी, बैंकर, कर्मचारी, नेपाली सेना तथा नेपाल प्रहरी र ससस्त्र प्रहरी लगायतको सहभागिता रहेको छ ।

बुटवलको बुटवल बहुमुखी क्याम्पसदेखि सुरु भएकोे फूल म्याराथुन (४२ किलोमिटर) कालागि भैरहवाको देवकोटा चोक हुँदै पुन बुटवलको जीतगढी किल्लासम्मको रुट निर्धारण गरिएको छ । त्यसकालागि सिद्धार्थ राजमार्गको बुटवल भैरहवा सडकमा एक तर्फ मात्रै यातायात सञ्चालनको व्यबस्था मिलाईएको उहाँले जानकारी दिनुभयो ।

प्रतियोगिताकालागि निर्धारण गरिएका ४ वटै बिधाका प्रतिस्पर्धा बुटवल बहुमुखी क्याम्पसबाट सुरु भई जीतगढी किल्लामा पुगेर सकिनेछन् ।प्रतियोगितामा महिला र पुरुषलाई चारै बिधामा अलग अलग प्रतिस्पर्धा गराईएको छ ।

छुट्टा छुट्टै हुने प्रतिस्पर्धाका लागि पुरस्कार राशी पनि समान राखिएको छ । जीतगढी म्याराथुन प्रतियोगितामा फूल म्याराथुन (४२ किलोमिटर) प्रतिस्पर्धामा प्रथम हुनेलाई १ लाख रुपैंया, द्वितीय हुनेलाई ५० हजार रुपैंया र तृतीय हुनेलाई २५ हजार रुपैंया नगद सहित पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ ।

त्यस्तैगरी हाफ म्याराथुन २१ किलोमिटरमा प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई २५ हजार र तृतीय हुनेलाई १५ हजार रुपैंया तथा १० किलोमिटरमा प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५ हजार रुपैंया नगद सहित पुरस्कार र प्रमाणपत्र पाउने छन ।

प्रतियोगिता पश्चात नेपाली सेनाले जीतगढी किल्लामा ऐतिहासिक सरायँ नाच तथा खुकुरी नाच प्रस्तुत गर्ने तयारी गरेको छ भने बिभिन्न बिद्यालयहरुले समेत सांस्कृतिक नृत्य प्रस्तुत गरिरहेका छन् ।