अब नयाँ लाइसेन्स लिनेको लिखित र ट्रायल परीक्षा कम्प्युटरबाट


न्युज अफ नेपाल, काठमाण्डौं।

सरकारले सवारी चालक अनुमति पत्र सम्बन्धी कार्यविधि संशोधन गर्ने भएको छ। यातायात व्यवस्था विभागका निर्देशक तीर्थराज खनालले चालक अनुमतिपत्र स्वचालित प्रणालीमा गर्न लागेकाले कार्यविधि परिवर्तन गर्न लागेको जानकारी दिए।

निर्देशक खनालले अहिलेको कार्यविधिले अटोमेसन प्रणालीमा काम गर्न नमिल्ने भएकाले कार्यविधिमा संशोधन गर्न प्रस्ताव गरेको बताए। हाल लाइसेन्सको लागि दिइने लिखित परीक्षा अपारदर्शी भएको आरोप लाग्दै आएको छ। परीक्षा दिने ठाउँमा आफ्नो मान्छे भयो भने फेल भए पनि पास गराउने गरेको भेटिने गरेको छ।

परीक्षा प्रणालीलाई पारदर्शी बनाउनकै लागि प्रविधिको प्रयोग गर्नुपर्ने आवश्यकता रहेको खनालले बताए। कार्यविधि संशोधन भए लाइसेन्सको लागि ‘कम्प्युटर बेस’ परीक्षा सञ्चालन हुनेछ। अहिलेको कार्यविधि अनुसार वस्तुगत प्रश्न सोध्ने गरिएको छ। त्यसमा भने परिवर्तन नहुने तर अहिले कापीमा लगाउने ‘टिक’ अब कम्प्युटरमा लगाउनुपर्नेछ। परीक्षापछि पास वा फेल आफैँ कम्प्युटरले जाँच्ने खनालले बताए। यसले गर्दा कपी जाँच्नेले चलखेल गर्न नपाउने भएकाले परीक्षा पारदर्शी हुने उनको भनाइ छ।

त्यस्तै ट्रायलमा पनि सबै कम्प्युटर प्रविधिमा आधारित हुने उनले बताए। खनालले केही परीक्षार्थीले पास भएर पनि फेल गराएको भन्ने गुनासो गर्ने गरेको जनाउँदै अब कम्प्युटर प्रविधिको कारण त्यो समस्या आफैँ समाधान हुने बताए।