भक्तपुर । भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा बालकदेखि बृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै माधवनारायण मेलाको व्रत शुभारम्भ गरेका छन् । नेपाल संवत्को आठौँ शताब्दीदेखि शुरु भएका एक महिने माधवनारायण व्रत एवं मेला आजदेखि शुरु भएको हो ।
हरेकवर्ष पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म एक महिना यो मेला लाग्छ । बिहान हनुमान घाटस्थित त्रिवेणी धाममा स्नान गरी, सूर्यलाई अद्र्य दिएर माधवनारायणको पूजा गरेपछि व्रत शुरु भएको माधवनारायण व्रत व्यवस्थापन समितिका सदस्य एवं पूजारी गोपाल शर्माले जानकारी दिनुभयो । यो मेला भक्तपुरमा नेपाल संवत्को आठौँ शताब्दीदेखि शुरु भएको मानिन्छ ।
साँखुको शालीनदीमा भन्दा पहिलादेखि यो मेला एवं व्रत शुरु भएको शिलालेख एवं ग्रन्थमा पाइएको उहाँको भनाइ थियो । माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत शुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्ख जल ग्रहण गरी मन्त्रोच्चरण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको पूजारी शर्माले जानकारी दिनुभयो । नेसं ७२२ मा रणजीत मल्ल आफैँले व्रतको व्यवस्थापन गरिएका शिलालेखमा उल्लेख गरिएको बताउँदै उहाँले यहाँस्थित त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेकाले यहाँ व्रत बस्ने र स्नान गर्ने आउने गरेको उहाँको भनाइ थियो ।
व्रतालुले खाली खुट्टा पैदल नै तीलमाधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरी इन्द्रेश्वर महादेवको दर्शन गरी अष्टमीमा फर्कने, दशमीमा पशुपति गएर स्नान गरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलशयात्रा गर्ने, द्वादशीमा चाँगुनारायण शङ्खदहमा स्नानगरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्लपूर्णिमाका दिन नगरपरिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा ईन्द्रकलश चढाएर व्रत समापन गर्ने परम्परा छ । व्रतालुहरु त्रिवेणीघाटमा महिनादिनसम्म बसेर व्रत पूरा गर्ने र कतिपय व्रतालु भने हरेक दिन बिहान त्रिवेणीघाटमा आएर नुहाउने तथा विभिन्न स्थानको कलशयात्रामा सहभागी जनाउने परम्परा रहेको छ ।
व्रतालुले माघ शुक्लपूर्णिमाको दिन बिहान त्रिवेणी खोलामा आएर स्नान गरी माधवनारायणको पूजा गरेर होम आहुति गरेपछि भक्तपुर नगरका विभिन्न देवालयको परिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा ईन्द्रकलश चढाएर व्रत समापन गर्ने परम्परा छ । राम, लक्ष्मण वनबास आउँदा दही चिउरा खाने क्रममा पानीको व्यवस्था गर्न हनुमानले आफ्नो पुच्छरले खाल्डो बनाएर पानी निकालेको र उत्तर, दक्षिणबाट आएको खोला एवं हनुमानले पुच्छरबाट पानी निकालेपछि आएको मूलको पानी मिश्रित हुने भएकाले पनि यस क्षेत्रलाई त्रिवेणीघाट भन्ने प्रचलन छ । ––
प्रतिक्रिया