नेपाल समाचारपत्र, काठमाडौं।
सडक नियम उल्लंघन गर्ने जो कोही भए पनि कानुनी कारबाहीको दायरामा ल्याउन महानगरीय प्रहरी कार्यालय रानी पोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले निर्देशन दिनुभएको छ।
उहाँले कसैलाई पनि सहुलियतको सुविधा नदिन डीआईजी पोखरेलले ट्राफिक प्रहरीलाई निर्देशन दिनुभयो। महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उहाँले सो कुरा बताउनुभएको हो।
सडकमा डिउटी गरिरहेको ट्राफिक प्रहरी राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतको निगरानीमा रहने भएकाले उसको बोली, वचन व्यवहार अनुशासन र निश्पक्ष कार्य सम्पादनले समग्र संगठनको छबीमै प्रभाव पार्ने भएकाले ट्राफिक प्रहरीले संगठनको ऐनाको रूपमा आफूलाई प्रस्तुत गर्नुपर्ने बताउनुभयो।
धुलोधँुवा, घामपानी नभनी हरपल डिउटीमै खटिने ट्राफिक प्रहरीको एउटा सानो गल्ती वा लोभले समग्र संगठनलाई आलोचित र लज्जित पार्ने हुनाले आर्थिक पक्षमा जिरो टलरेन्सको नीति अबलम्बन गर्न निर्देशन दिँदै राम्रो काम गर्ने कर्मचारीलाई नागरिकको साथ सदैव रहने स्मरण गराउँदै गलत क्रियाकलाप गरेमा कसैको समर्थन नहुने हुनाले नागरिकको समर्थन प्राप्त गर्ने गरी कार्य गर्नुपर्ने उहाँले बताउनुभयो।
सबै क्षमता र ओहदाका नागरिकसँग ट्राफिक प्रहरीको प्रत्यक्ष सम्पर्क हुने हुनाले आफ्ना कमी कमजोरीलाई सुधार्दै बोली वचन र व्यवहारमा शिष्टता र नम्रता अपनाउन र कानुन कार्यान्वयनमा निर्ममता अपनाई कार्य गर्न पनि मातहतका कर्मचारीलाई निर्देशन दिनुभयो।











प्रतिक्रिया