दाजुभाउजु एचआईभी संक्रमित, भाईको स–परिवार अपाङ्ग


मानबहादुर बोहरा, बझाङ ।

बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा नंम्बर १ चौडामका गम्भीरे दमाईका जेठा छोरा बुहारी एचआईभी संक्रमीत छन् भने कान्छा छोरा बुहारीसहित दुवै नाती पूर्णरुपमा अपाङ्ग छन् । दमाई परिवारलाई खानलाई गासको अभाव छ, बस्नलाई बासको अभाव छ ।

केदारस्युँ देउराबाट सेती नदीको पुल पार गरेर थलारा टेक्ने वित्तिकै ६६ वर्षिया गम्भीरे दमाई भेटिन्छन् । दुई छोरा, दुई बुहारी, ५ नाती र १ नातीनीका हुजुर बुवा गम्भीरेका साथमा उनकी श्रीमती भने छैनन् । केदारस्युँको चौडाममा उनको घर छ ।

तर, घरमा कोहि पनि छैन । अहिले उनका जेठा छोरा अर्जुनको परिवार देउरामा अर्कैको घरमा परिवार सहित बसीरहेका छन् भने कान्छा छोरा सेती नदिको क्षेउमै जस्ताको टहरोमा रात काटि रहेका छन् । गाउँमा सम्पत्तीको नाममा घरबाहेक अरुकेहि नभएपछि दमाई परिवार बजार नजिक सरेको हो ।

जेनतेन विहान बेलुका हातमुख जोर्न पुगेपनि गम्भीरेका दुवै छोराको परिवारमा खुसी भने छैन् । जेठा छोरा अर्जुन र बुहारी जला दमाई एचआईभी संक्रमीत हुन् । कान्छा छोरा भुमी दमाई र बुहारी हरु देवी दमाई सहित दुबै नाती पूर्णरुपमा अपाङ्ग छन् ।

उनीहरु हिडडुल गर्न सक्दैनन् । काम गर्न नसकिने भन्दै, कसैले दया मायाले दिए खाने गरेको हरुदेवी दमाईले दुखेसो सुनाउँदै भनिन्, “खानलाई गास छैन्, बस्नलाई बास छैन् । आफूसहित लोग्ने र छोराछोरी सबै हिडडुलै गर्न सक्दैनौँ । समस्या छ ।

कसैले दयाले दियो भने खान्छौँ । नत्र कहिले त भोक भोकै बस्छौँ ।” परिवारका सबैजना अपाङ्ग भएपछि पानी पधेरो गर्न गार्हो भएपछि नै सेती नदि किनार थलारा रेगमको मजुवा बगरमा झरेको भुमी दमाईको भनाई छ । उनले मागेरै खानलाई भएपनि सजिलो हुने भएकोले बजार नजिक सरेको बताए ।

जेठो छोराको पनि अवस्था त्यो भन्दा दयनिय छ । गम्भीरेका जेठा नाती रोजगारीका लागि भारतमा छन् । तर उनलाई घरकै पीर छ । एचआईभी संक्रमीत बुवा आमाको अवस्था कतिखेर के हुनेहो?, पीरलो लागी रहन्छ ।

जलादेवीलाई आफ्ना स–साना छोराछोरीको चिन्ता छ । बस्नलाई आफ्नो घर सम्म छैन् । छोराछोरीलाई बासबस्नको लागि घर बनाउने जलादेविको रहर छ । तर, आर्थिक अभावकै कारण अर्कैको घरमा बस्नु परिरहेको छ ।

आफ्ना दुःख सुनाउँदै उनले भनिन्, “म मरेपनि मेरा छोरा छोरीलाई एक घर बनाउन पाए हुन्थ्यो ।” गतीशील जिन्दगीमा स्थीर पीडाले दमाई परिवारलाई सधैँ रुवाई रह्यो । सहयोगी भावना भएका मनकारीहरुको प्रतिक्षामा उनिहरु छन् ।