बिषाधिको खुल्ला बिक्री वितरणले हरेक दिन १६ जनाको अकाल मृत्यु


न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल स्वास्थ्य प्रतिष्ठानको आयोजनामा बिषाधि र स्वास्थ्य सम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौमा शुरु भएको छ ।
सम्मेलनको उद्घाटन गर्दै कृषि तथा पशुपंक्षी बिकास मन्त्री घनश्याम भुषालले नेपालमा खाद्य ऐन बनिसकेको छ । ऐनमा आम नागरिकका लागि पर्याप्त पोषणयुक्त गुणस्तरिय खाद्यान्न हुनुपर्छ भन्ने उल्लेख गरिएको छ । उहाँले जति नेपालमा उत्पादन हुने स्थानिय जातका खानेकुराहरु छन ती अत्यन्तै गुणस्तरिय र उपयोगी छन् । अब आम नेपालीलाई बाहिरबाट आयात गर्ने बिषाधियुक्त खानेकुरामा भन्दा आफैले उत्पादन गरेर खान्छु भन्ने भोक जगाउन सकेमात्र बिषाधिको प्रयोग न्यून हुने बताउनु भयो ।

नेपालमा जैबिक कृषिका कुरा संरचनाका हिसाबले राज्यले चिन्दैन र कुरा गर्ने नै ठाउँ छैन । यसलाई नागरिकप्रति जिम्मेवार बन्न राज्यलाई सम्मेलनले सघाउ पुर्याउने अपेक्षा गर्दै राज्यले आम नागरिकको जनस्वास्थ्य प्रति जिम्मेवा बन्नैपर्छ मन्त्री भुषालले भन्नुभयो ।
उद्घाटन कार्यक्रममा चीनका लागि नेपालका पूर्व राजदूत डा.महेश कुमार मास्केले आफु चीनको राजदूत भएको समयमा चीनमा रसायनिक मल र बिषाधिका कारण कृषि योग्य जमिन बिग्रिनुका साथै नागरिकको स्वास्थ्यमा समेत ठूलो असर परेको बिषयमा बृहत छलफल गरि सुधारका लागि ठूलो धनराशी लगानी गरेको पाए । यो देख्दा नेपालले पनि कृषि क्षेत्रमा प्रयोग हुँदै आएको रसायनिक मल र बिषाधिलाई न्यूनीकरण गर्दै बैकल्पिक रुपमा जैबिक उपचार पद्धतिमा नजाने हो भने केही बर्षमा नै नेपालको आधा भन्दा बढी जनसंख्या रोगी हुन्छन् । यसले देशको ठुलो उत्पादन क्षमतामा कमी आउँनुका साथै आर्थिक रुपमा कमजोर बन्छ भन्नुभयो ।

उहाँले साहित्यकारहरुले हावा, पानी र माटोलाई मानव जीवनको प्रतिकको रुपमा औल्याईरहेको अवस्थामा बिज्ञानले प्राथमिकता नदिएका कारण आज विश्वमानै समस्या निम्तिएको हो । नेपालमा किसानलाई सरकारले प्राथमिकता नै दिँदैन तर कोरियामा किसानले उत्पादन गरेका कृषिजन्य बस्तुले बजार नपाएमा सरकार आफैले खरिद गरेर किसानलाई राहत दिन्छ । त्यसैले सरकारले जब सम्म किसानलाई सम्बोधन गरेर बैकल्पिक मार्ग दिँदैन तब सम्म जैबिक उत्पादन गर्न तर्फ किसानले लगानी गर्न सक्दैदै डा.मास्केले भन्नुभयो ।

सोही अवसरमा कालिका नगरिपालिका चितवनका मेयर खुमनारायण श्रेष्ठले चितवन नगरपालिकाले रासायनिक बिषाधि न्युनीकरण सम्बन्धि काम थालिसकेको छ अब यो सम्मेलनले केन्द्रिय सरकारको ध्यान खिच्न र किसानलाई कसरी जनचेतना जगाउने भन्नेमा केन्द्रित हुनुपर्छ । उहाँले आफु निर्वाचित हुनासाथ सबै भन्दा जान्ने सुन्ने नै आफै हो भन्ने दम्भ बोकेर हिडेको थिए त्यो गलत रहेछ । एक दिन कृषिमा बिषाधि कम गर्ने बिषयमा बिद्यालय तहका बिद्यार्थीहरुको धारणा सुनेर योजना बनाउने उदेश्यले छलफल गरिरहँदा बिद्यार्थीले भने हामीलाई केही चाहिएको छैन बिद्यालय जाँदा आउँदा समेत खेतबारीमा छरेको बिषाधिको रागले नाक थुनेर हिड्छौ तर आँखा थुन्न सक्दैनौ यसमा सुधार चाहियो भने ।


त्यसपछि निकै गम्भिर भएर अध्ययन गरे चितवनमा त केरा खेतिमा समेत अत्यधिक बिषाधि हालिदो रहेछ । तरकारी र केरा खेती गरेको क्षेत्रका किसानहरु कोही क्यान्सरका बिरामी त कोही मुटुका नगरपालिकाले गरिबीको चिठ्ठी बनाएरै नभ्याउने रहेछ । उत्ता चेपाङ बस्तीका मानिसले अहिले सम्म कुनै सिफारिस नै मागका छैन कारण खोज्दै जाँदा उनीहरु त कन्दमूल खाँदा रहेछन् मेयर श्रेष्ठले भन्नुभयो ।
त्यस्तै जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटी चितवन जिल्लामा रहेका ७ वटा नगरपालिकालाई बिषाधि न्यूनीकरणका लागि अभियाननै थालिएको छ । बुधबारबाट चितवनमा बिषाधि मुक्त सप्ताह मनाउँदै गाउँ देखि शहर सम्म र्याली र जनचेतना मुलक कार्यक्रमको थालनी भएको छ भन्नुभयो ।
सोही अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा.उषा झाले किसानले भन्दा बढी बिषाधि ठूला उद्योगी, सुपरमार्केट जस्ता क्षेत्रले प्रयोग गर्छन भन्नुभयो । यसको न्यूनीकरणका लागि किसान, उद्योगी र सरकार एकै थलोमा बसेर योजना बनाए मात्र सम्भव हुन्छ नत्र काठमाडौको सम्मेलनले किसान र उद्योगीमा सुधार आउँदैन भन्नुभयो ।
स्वास्थ्य मन्त्रालयका योजना शाखाका प्रमुख महेन्द्र श्रेष्ठले बिश्वमा नै रसायनिक बिषाधीको प्रयोगका कारण उत्पादनमा बृद्धि गरि खाद्यान्न पूर्ति गरेको अवसथामा जैविक खेतिले खाद्यान्न पुर्याउन सकिन्न र किसानलाई भन्दा यस्ता उद्योगले बिचौलियालाई मात्र फाइदा पुग्न सक्छ । त्यसैले पहिला पर्याप्त उत्पादनका लागि जैविक कृषि, बिउ, बिजन, उत्पादक, सरकार सबैको अवस्था सृदृढ गरेर मात्र अघि बढ्नुपर्छ भन्नुभयो । बिषाधिको खुल्ला बिक्री वितरणका कारण दिनमै १६ जनाले अकालमा ज्यान गुमाईरहेका छन श्रेष्ठले भन्नुभयो ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका उपभोक्ता अधिकार कर्मी ज्योति बानिया, बरिष्ठ बालि संरक्षण अधिकृत पशुराम अधिकारी, प्रतिष्ठानका अध्यक्ष डा.शरद वन्त लगायतका वक्ताहरुले बिषाधि प्रयोगमा न्यूनीकरण गर्ने बिषयमा तीनै तहका सरकारले कार्यक्रम अघि सार्नुपर्ने कुरा औल्याएका थिए ।