नेकपाका नेता ऐरको रगतले बच्यो बृद्धको ज्यान


विमल विष्ट, डोटी ।

जिल्ला समन्वय समिति डोटीका संयोजक तथा नेकपाका नेता रामबहादुर ऐरले दान गरेको रगतका कारण एक बृद्धको ज्यान जोगिएको छ । संयोजक ऐरले दिनु भएको रगतले जिल्लाको पश्चिमी क्षेत्रममा पर्ने सायल गाउँपालिका वडा नं ५ घोतल गाउँ बस्ने ५१ वर्षीय सकरी साउदको ज्यान जोगिएको हो ।

बिरामी परेर दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा केही दिन पहिलेदेखि उपचारका लागि भर्ना हुनु भएको थियो । आर्थिक अवस्था कम्जोर भएका साउदको सरिरमा रगतको कमी भएको रगत नपाउदा उहाँको ज्यान जाने खतरा बढेको थियो ।

रगतका लागि स्थानीयबासी तथा नेकपाका युवा नेता तेज डुम्रेलले सामाजिक सञ्चालमा रगत अह्वानकालागि आग्रह गरेपछि संयोजक ऐरले अस्पतालमै आएर रगत दान गरेको शैलेश्वरी अस्पतालका चिकित्सक तथा निर्देशक आइजंङ्ग कुँवरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “रगत अभावमा सकरीको ज्यान जाने खतरा थियो, संयोजकले रगत दिएर ज्यान जोगाउनु भयो ।” संयोजक ऐरले रगत अभावमा बिरामी परेका सकरी साउदलाइ ए पोजेटिक एक पिण्ट रगत दान गर्नु भएको अस्पतालले जनाएको छ । जिल्लामा रगत (ब्लड) बैङ्क नहुँदा यहाँका बिरामी तथा सुत्केरी महिलाले सेना, प्रहरी तथा स्थानीयको भर पर्नु पर्ने अवस्था सृजना हुने गरेको छ । यतिमात्र नभइ रगत अभावकै कारण यहाँका ग्रामिण क्षेत्रमा अधिकांस महिला तथा सुत्केरीले अकालमै ज्यान गुमाउने गरेका छन् ।

त्यसैगरी जिल्लामा वर्षौ देखी ब्लड बैंङ्क सञ्चालन गर्न नसकेको जिल्ला अस्पताल डोटीले रगत चाहियो कि नेपाली सेनाका व्यारेकमा फोन लगाउने गरेको छ । जिल्ला अस्पताल डोटीमा ब्लड बैंङ्क स्थापना भएको करिब पाँच वर्ष बित्न लाग्दा समेत उक्त बैंङ्क सञ्चालनमा आउन सकेको छैन् । ब्लड बैंङ्क सञ्चालन गर्न नसक्दा अस्पतलले रगतका लागि नेपाली सेनालाई गुहार्ने गरेको हो ।

अस्पतालमा सल्लेक्रिया लगायत बिरामीलाई आवश्यक पर्ने रगत जहिले पनि नेपाली सेनाले उपलब्ध गराउदै आएको छ । जिल्ला अस्पताल सहित अन्य कुनैपनि अस्पतालबाट रगत चाहियो भन्दै फोन आएपछी रक्तदान गर्न सेनाका जवान जाने गरेको डोटीको सिलगढीमा तैनाथ रहेको रुद्रध्वजगणका गणपति तथा प्रमुख सेनानी रत्नकेशर खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो रगत पाएमा बिरामी बाँच्छ भने किन रगत नदिने भन्ने लाग्छ, त्यसैले हामी जहिले जहाँ पनि रगत दिन तयार हुन्छौँ ।” उक्त गणमा रहेका नेपाली सेनाका जवान देखी अधिकृतहरु आवश्यक परेमा रगत नदिने कोहिपछि छैनन् । रगत दिनेहरुलाई ब्यारेकले एक हप्ता सम्म गरुङ्गो अर्थात भारीकाम (धेरैपसिना) आउने काममा नलगाउने, रेष्टको सहुलियत दिने, हप्तादिन सम्म पोषिलो खानेकुरा दिने गरेको गणपति खड्काले बताउनुभयो ।

उता जिल्ला स्वास्थ्य कार्यालय डोटीका खोप अधिकृत रामस्वार्थ यादवले जिल्ला स्वास्थ्य कार्यालय डोटीसँग रहेको ब्लड बैंङ्क धेरै लामो समय सम्म रगत राख्न सक्ने क्षमताको नहुँदा सञ्चालनमा नआएको र रगतको समस्या आए व्यारेक बाट माग्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसंग राखिएको रगत धेरै समय राख्न सक्ने क्षमताको फिरीजहरु छैन, आवस्यक परे सेनालाई खबर गर्छौ र रगत आपुर्ति गर्छौ ।”

जिल्लामा बिरामीलाई जुन सुक्कै समयमा पनि रगत दिई राख्नु परेपछि रुद्रध्वजगणका गणपति देखि तल्लो तहका कर्मचारी फालोर्स (बकासी) सम्म सबैको रगत समुह छुट्याएर राखीएको गणले जनाएको छ । कस्ले कहिले रगत दियो भनेर समेत जानकारी राख्ने गरिएको सो गणको तत्थ्यांङ्कमा उल्लेख गरिएको गणका सुबेदार मेजर भोजराज लामिछाने जानकारी दिनुभयो ।

बिरामीलाई कुन रगत समूहको चाहिने हो त्यही रगत समूहको ब्यक्ति अस्पतालमै गएर रगत दिन्छ गणपती खड्काले भन्नुभयो, “रगत हामीले मात्रै दिनुपर्छ भन्ने जरुरी होईन मानवियताका कारणले दिन्छौ,कुन रगत चाहिन्छ हामी मान्छे खटाई हाल्छौँ ।” हालसम्म उक्त गणका १३० जनाले जिल्ला अस्पताल लगायत अन्य अस्पतालमा आएका बिरामीलाई रगत दान गरेको गणको तथ्याङ्कमा उल्लेख गरिएको छ । डोटीमा एचआईभी संक्रमितहरुको संङ्ख्या धेरै रहेकाले पनि रगत बढी आवश्यक पर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका चिकित्सकहरु बताउँछन् ।

जिल्ला अस्पताल डोटीका डा. गिरिष अवस्थीकाअनुसार जिल्ला अस्पतालमा पछिल्लो समय केही ठुलो खालको सल्लेक्रियाको काम हुन थालेपछि रगत बढी मात्रामा चाहिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा उपकरण आए संङ्गै केही जटिल प्रकारको सल्लेक्रिया गर्नु पर्ने हुँदा रगत अलि बढी चाहिन्छ, त्यसैले रगतको माग बढेको हो ।”

जिल्लाका ग्रामिण भेगबाट उपचार गराउन आउने बिरामीहरु जिल्लाको ब्लड बैंङ्कमा रगत नहुँदा समस्यामा पर्ने गरेको गैरसरकारी संस्था महासंघ डोटीका अध्यक्ष रघु कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “सम्वन्ध सम्पर्क भएकाहरु त रगत मागेर बिरामीको ज्यान बचाउलान सम्बन्ध नभएकाहरुले रगतका लागि कस्लाई गुहार्ने, चाडो ब्लड बैंङ्क सञ्चालन गरिनु आवस्यक छ ।” जिल्ला अस्पतालमा सबै भन्दा बढी सुत्केरी (प्रशुती) गराउने महिलाहरुलाई रगतको अभाव हुने गरेको चिकित्सकहरु बताउँछन् ।