एक गाग्री पानीको लागि एक घण्टा कुर्नु पर्ने !


मानबहादुर बोहरा, बझाङ ।

बझाङको थलारा गाउँपालिका वडा नंम्बर १ पीपलकोटमा झण्डै ३ दर्जन परिवारको बसोबास छ । गाउँका सबै घरधुरीले प्रयोग गर्ने धाराको रुपमा एउटा मसीनो पाईपमा चुहिने पानी छ । त्यसमा पनि नियमीत पानी आउँदैन् । गाउँको छेउमै ढुंगामा अड्याईएको मसीनो पाईपमा चुहिरहेको पानी गाग्रीमा भर्दै गर्दा तिर्थराज जोशी भेटिए । पानी भर्नकै लागि लाईनमा बस्नुपर्ने बाध्यता सुनाउँदै उनले भने, “एक घण्टा भन्दा बढी कुरेर पालो आउँछ, कहिले त घण्टौँ लाईनमा बसेपनि पानी पाईदैन्, अनि पानी ल्याउन खोलामा जानुपर्छ ।”

गाउँभरीका बासीन्दालाई पानीकै कारण जीवन यापनमा समस्या छ । स्थानीय भगवती जोशीले पीपलकोटका बासिन्दालाई पानीको निकै दुःख भएको बताईन् । उनले टाढाबाट बोकेर पानीको जोहो गर्नुपर्ने बाध्यता रहेको बताईन् । पीपलकोटमा पीठ्युमा बोकेरै भएपनि मानीसलाई त जेनतेन पानीको जोहो गरीएको छ । तर, बस्तुभाउलाई भने धित मरुन्जेल पानी खुवान नसकिएको स्थानीय भवराज जोशीको भनाई छ । उनले पानीको समस्या सुनाउँदै भने, “मान्छेलाई त दिन काटेरै भएपनि गुजरा गरीएको छ । गाईबस्तुलाई त पानी पुगेकै छैन् ।”

जाडोको समय छ । पानी बोक्न पनि समस्या छ । सरकारले गाउँमा पानीको व्यवस्था गरीदिनका लागि कुनै पहल नगरेको स्थानीय महेश्वरी जोशीले दुःखेसो गरीन् । तर, त्यस क्षेत्रका जनप्रतिनिधी तथा थलारा गाउँपालिका वडा नंम्बर १ का वडा अध्यक्ष धर्मराज भट्टले भने पीपलकोटका बासिन्दाले भोगीरहेको पानीको समस्या चाँडै समाधान गरीने बताए । उनले गाउँमा खानेपानी पुर्याउनको लागि काम अगाडी बढी सकेकोले अब चाँडै खानेपानीको व्यवस्था हुने बताए ।