नारायणगढ–मुग्लिन सडकखण्ड पूर्णरूपमा सञ्चालनमा


न्युज अफ नेपाल, काठमाडौँ ।

दिउँसोको समयमा दैनिक ४ घण्टा सवारी साधन रोकेर पहिरो नियन्त्रणको काम हुँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ ।

सवारी साधान रोकेर पहिरो नियन्त्रणको कार्य सकेर पूर्णरूपमा सडक सञ्चालन गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर शिव खनालले जानकारी दिए ।

बाँकी रहेका केही सामान्य कामहरु आगामी दिनमा थोरै–थोरै समयको अन्तरालमा सवारी साधनलाई रोक्दै ट्राफिक व्यवस्थापन मिलाउँदै पूरा गरिने खनालले बताए ।

नारायणघाट मुग्लिन सडकमा बाँकी रहेका आठ ठाउँमा पहिरो रोकथामको काम गरिएको हो । गत मङ्सिर २७ गतेदेखि प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडकमा सवारी साधनलाई रोकेर काम हुँदै आएको थियो ।

पहिरो नियन्त्रणका काम लगभग सकिएसँगै आगामी वर्षदेखि मुग्लिङ–नारायणघाट सडकमा वर्षात्को समयमा पनि पहिरोको प्रभावले सवारी यातायातमा न्यून मात्र प्रभाव पर्ने सुनिश्चित भएको खनालले बताए ।