साउन महिनादेखिकाे तलब नपाएपछि शिक्षक र कर्मचारीद्वारा नगरपालिकामा तालाबन्दी


न्युज अफ नेपाल, रौतहट ।

साउन महिनादेखिको तलब नपाएको भन्दै रौतहटको फतुवा बिजयपुर नगरपालिकामा शिक्षक तथा कर्मचारीहरुले बुधबारदेखि अनिश्चितकालिन तालाबन्दी गरिएका छन्।

नगरपालिकामा शिक्षक लगायत सैयौंको संख्यामा गएका कर्मचारीहरुले नगरपालिकाभित्र रहेका कर्मचारीलाई बाहिर निकाली मुलगेटमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन् ।

तलबको माग राख्दै गत असोज ६ गतेदेखी शान्तिपुर्ण रुपमा आन्दोलन गर्दै आएपनि नगरपालिकाले वेवास्ता गरेको बिजयपुर माविका प्रधानाध्यापक सुदामा यादवले बताए। तलब नपाएसम्म आन्दोलन जारी हुने उनको भनाइ छ।

जनप्रतिनिधिहरुको विवादले कर्मचारीलाइ मार परेकोले जतिसक्दो चाँडो तलब उपलब्ध गराउन कर्मचारीहरुको माग छ। यो नगरपालिकामा १ सय ९३ जना शिक्षकसहित २ सय ८० भन्दा बढी कर्मचारी कार्यत छन्। यी कर्मचारीले गत साउन महिनादेखिको तलब पाएका छैनन्।

असार मै गरिसक्नुपर्ने नगर सभा समयमा नगरिदिदा कर्मचारीहरुले तलब खान नपाएका हुन।