भारतीयको रोजाइमा किवी

0
Shares

चिरञ्जीवी मास्के, दोलखा।

’फलको राजा’ भनेर हैन, केही आम्दानी हुन्छ कि भनेर किवी खेती गर्नुभएको हो, तामाकोसी गाउँपालिकाका दिलबहादुर कार्कीले। तर अहिले किवी, फलको राजा नै रहेछ भन्ने कुरामा सहमत हुनुभएको छ कार्की।

दोलखा भीमेश्वर नगरपालिकाले सदरमुकाम चरिकोटमा आयोजना गरेको सप्ताहव्यापी किवी महोत्सवमा किवीको स्टलसहित सहभागिता जनाउनुभएका तामाकोसी गाउँपालिका–७ हावाका किसान दिलबहादुर महोत्सवमा आएका मानिसले किवी फलप्रति देखाएको आर्कषणबाट किवी फलको राजा नै रहेछ भन्ने कुरामा सहमत हुनुभएको छ।

उहाँले महोत्सव अवधिमा मात्र दुई लाखभन्दा बढीको किवी बिक्री गर्नुभएको छ। किवी फलप्रतिको आकर्षण नेपालीमा मात्र हैन भारतीयहरूमा समेत देखिएको किवी जोन सञ्चालक समिति दोलखाका अध्यक्ष उषा थापाले बताउनुभयो। किवी महोत्सवमा भारतीयहरूको समेत उत्साहजनक सहभागिता रहेको र किवी फलप्रति उनीहरूको चासो पाइएको अध्यक्ष उषाको भनाइ छ।

महोत्सव अवधिभरि झण्डै पाँच लाखको किवी बिक्री गरेका व्यवसायी चित्र दाहाल किवी फलप्रति तराईका वासिन्दाको विशेष आकर्षण देखिएको बताउनुहुन्छ। भारत तथा नेपालकै तराई क्षेत्रका सहभागीले किवी बढी मात्रामा खरिद गरेको व्यवसायी दाहालले बताउनुभयो।

जिल्लाको जिरी नगरपालिका र सात गाउँपालिकाको सहयोग तथा विभिन्न संघसंस्थाको सक्रियतामा आयोजना गरिएको किवी महोत्सवमा झण्डै १० लाखबराबरको किवी बिक्री भएको अध्यक्ष थापाले बताउनुभयो। महोत्सवमा राखिएको सुन्तला, अन्य कृषि उत्पादन र हस्तकलाका सामग्रीको बिक्रीसमेत जोड्दा महोत्सवमा १७ लाखबराबरको कारोबार भएको भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले बताउनुभयो।

किवी महोत्सवमा भीमेश्वर नगरपालिकाको अलवा दोलखाको जिरी नगरपालिका तथा विगु, कालिञ्चोक, शैलुङ र तामाकोसी गाउँपालिकाबाट किवी ल्याइएको र मेलुङ गाउँपालिकाबाट सुन्तला ल्याइएको नगरप्रमुख केसीले बताउनुभयो।

दोलखा जिल्ला २०४३ सालतिर नेपालमै पहिलोपटक किवीको पहिचान तथा व्यावसायिक उत्पादन शुरु भएको जिल्ला भएकाले यसको प्रबद्र्धनका लागि नगरपालिकाले किवी महोत्सवको आयोजना गरेको र किवी फलप्रति सहभागीले देखाएको चासोका कारण महोत्सव उद्देश्यमा सफल रहेको नगरप्रमुख केसीले बताउनुभयो।

नगरपालिकाले किवी फलको प्रबद्र्धनका लागि वडा नम्बर १, ६, ७, ८ र ९ मा ५० प्रतिशत अनुदानमा ५ हजार बिरुवासमेत वितरण गरेको नगरप्रमुख केसीले बताउनुभयो। फलको राजा, किवीको प्रबद्र्धनका लागि जिल्ला समन्वय समितिले पनि जिल्लाका ९ वटै स्थानीय तह र प्रदेश तथा संघीय सरकारसँग समेत समन्वय गरिरहेको समन्वय प्रमुख डबल पाण्डे बताउनुहुन्छ।

भ्रमण वर्ष २०२० मा किवी अवलोकन र खरिदका लागि समेत धेरै पर्यटक दोलखा आउने अपेक्षा गरिएको समन्वय प्रमुख पाण्डेको भनाइ छ। दोलखा जिल्लाबाट किवी फल ४ करोडभन्दा बढीको बिक्री वितरण हुने अनुमान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ दोलखाका वरिष्ठ कृषि अधिकृत मोहनप्रसाद खतिवडाले बताउनुभयो।

किवी फललाई तीन ग्रेडमा विभाजन गरेको पाइन्छ। एक सय ग्रामभन्दा बढीको किवी ए ग्रेड, ७० ग्रामसम्मको किवी बी ग्रेड र ६० भन्दा कम ग्राम तौलको किवी सी ग्रेडमा विभाजन गरिएको वरिष्ठ कृषि विकास अधिकृत खतिवडाले बताउनुभयो। दोलखामा मोन्टी, एलिसन, हेर्वाडलगायतका जातको किवी फल उत्पादन हुने गरेको खतिवडाले बताउनुभयो।