साहित्यिक पत्रकारिता पुरस्कार प्रदान

0
Shares

नेपाल समाचारपत्र, काठमाडौ।

चेतकी राज्यलक्ष्मी कार्की स्मृति विज्ञान तथा प्रविधि प्रतिष्ठानको आयोजनामा लेखक तथा समाजसेवी युवराजसिंह कार्की तथा जुलुम कार्कीद्वारा स्थापित चेतकी प्रज्ञा सम्मान (पुरस्कार) तथा सुश्री लक्ष्मी कार्की स्मृति साहित्यिक पत्रकारिता पुरस्कारबाट विभिन्न व्यक्तिहरू पुरस्कृत भएका छन्।

चेतकी प्रज्ञा सम्मान (पुरस्कार)– २०७६ संस्कृतितर्फ नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जगमान गुरुङ तथा २०७६ इतिहास तर्फ ‘संशोधन मण्डल’ लाई प्रदान गरिएको छ। यो सम्मान संशोधन मण्डलका सदस्य तथा प्राज्ञ दिनेशराज पन्तले ग्रहण गर्नुभएको हो। यी दुवै सम्मान (पुरस्कार) को राशि पचास, पचार हजार रहेको छ।

यसअन्तर्गत चेतकी प्रज्ञा–सम्मान–२०७५ हिन्दू धर्म–दर्शनतर्फ संस्कृतविद प्रा.डा. दीर्घराज घिमिरे, ललितकला–२०७४ तर्फ वरिष्ठ कलासाधक तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के के कर्माचार्य, बौद्ध धर्म–दर्शन–२०७३ तर्फ संस्कृतिविद प्रा.डा. शङ्कर थापा र नेपाली भाषा साहित्य–२०७२ तर्फ वरिष्ठ भाषाविद् प्रा.डा. चुडामणि बन्धुलाई प्रदान गरिएको छ।

यी चारवटै सम्मान–पुरस्कारको राशि तीस, तीस हजार रहेको छ। यस्तै सुश्री लक्ष्मी कार्की स्मृति साहित्यिक पत्रकारिता पुरस्कार (२०७६) प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य तथा कौशिकी साहित्यिक द्वैमासिकका प्रधानसम्पादक चेतनाथ धमला, सो पुरस्कार–२०७५ ‘शब्द संयोजन’ साहित्यिक मासिक, २०७४ ‘नवप्रज्ञापन’ साहित्यिक त्रैमासिक, २०७३ ‘सङ्गम अभियान’ साहित्यिक मासिक र २०७२ ‘श्रृङ्खला’ साहित्यिक मासिकलाई प्रदान गरिएको छ।

यी पाँचवटै पुरस्कारको राशि तीस, तीस हजार रहेको छ।यसैगरी चेतकीराज्यलक्ष्मी कार्की स्मृति छात्रावृत्ति त्रि.वि., लिटल एन्जेल्सं उमावि, बुढानीलकण्ठ उमावि, देउराली प्रा.वि., लेले र ज्ञान प्रकाश उमावि ओखलढुङ्गामा अध्ययनरत २१ जना विद्यार्थीलाई ४१ हजार राशिको छात्रावृत्ति सो प्रतिष्ठानका संरक्षिका श्रीमती जुलुम कार्की तथा अध्यक्ष प्रा. विद्याधर शर्मा भट्टराईले प्रदान गर्नुभएको थियो।

समारोहको उदघाटन गर्दै बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले भाषा–साहित्य, संस्कृति, कला र इतिहासको संरक्षण र सम्बद्र्धनमा सरकारको ध्यान आकर्षित गर्नुभयो।

प्रतिष्ठानका महासचिव युवराजसिंह कार्की, वरिष्ठ गीतकार चेतन कार्की, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, नेपाल साहित्यिक पत्रकार संघका निवर्तमान अध्यक्ष रोचक घिमिरे, योगविद् डा.टीपी धमला र गोरखापत्रका नायव कार्यकारी सम्पादक तुलसीहरि कोइरालाले पनि मन्तव्य राख्नुभएको थियो।