ओली–प्रचण्ड दिनहुँ  भेटिन्छन् भेटिँदैनन् सभामुख

0
Shares

मधुसूदन रायमाझी, काठमाडौं।

संघीय संसद्का नयाँ सभामुखको उम्मेदवार चयनमा सहमति जुटाउन नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच दिनहुँ भेटघाट भए पनि सहमति जुट्न सकेको छैन। यही पुस ४ गतेबाट नयाँ सभामुखको उम्मेदवारको टुंगो लगाउन अध्यक्षद्वयबीच बारम्बार भएको छलफल सार्थक बन्न नसकेको हो।
सहमति जुटाउन अध्यक्षद्वय ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा दिनहुँ छलफल भए पनि आ–आफ्नै अडानका कारण सहमति जुट्न नसकेको बुझिएको छ।
सभामुखका लागि प्रधामन्त्री ओलीले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रचण्डले अग्नि सापकोटाको पक्षमा अडान लिँदै आउनुभएको छ। यता उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले सभामुख बनाउने सुनिश्चितता नगरेसम्म उपसभामुखबाट राजीनामा नदिने अडान राख्दै आउनुभएको छ।
नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन नसक्दा संसद्को बैठक पटक–पटक सूचना टाँस गरेर स्थगित हुँदै आएको छ। संसद्को बैठक यही पुस २७ गतेको लागि आह्वान गरिएको छ। तर, सत्तारूढ दलभित्र उपसभामुख तुम्बाहाम्फेलाई नै सभामुख बनाउने कि नबनाउने भन्ने बहस शुरू भएको बताइएको छ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय ओली र प्रचण्डबीच सभामुखको उम्मेदवार चयनमा सहमति जुटान भएको छलफल पनि टुंगोमा पुग्न सकेन।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सभामुख चयनको विषय छिटै सहमतिमा पुग्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘विभिन्न ढंगबाट सहमति निर्माणको छलफल भइरहेको छ, संसद् बैठक बस्नुअघि नै नयाँ सभामुखको उम्मेदवारको टुंगो लगाइनेछ।’

संसद्मा सभामुख र उपसभामुख एउटै दलको नहुने संवैधानिक प्रावधानका कारण नेकपाले उपसभामुख पद छोडेर सभामुख लिने भएको छ।
समयमा नै नेकपाले निर्णय लिन नसक्दा संसद् बैठक नै सञ्चालन हुन सकेको छैन।

नयाँ सभामुख चयनको विषयमा प्रक्रिया अघि बढाउने भनिए पनि नेकपाले सभामुख छान्न नसक्दा आन्तरिक विवाद झन् चर्किंदै गएको छ।नेकपाले सभामुखको उम्मेदवार छनौट गर्ने जिम्मेवारी अध्यक्षद्वय ओली र प्रचण्डलाई दिएको छ।

संसद सचिवालयकी एक महिलामाथि यौन दुव्र्यवहार गरेको आरोपमा सभामुख कृष्णबहादुर महरा पुर्पक्षको लागि थुनामा रहेका कारण सभामुख पद विगत चार महिनादेखि रित्त छ।