प्रदेशसभामा चल्यो हेटौंडामा एअरपोर्टको चर्चा


न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडामा एयरपोर्ट आवश्यक रहेको भन्दै हेटौंडा–३, बसामाडीको राप्ती नदी उकास जमिनमा तटवन्ध गरेर आन्तरिक विमानस्थल निर्माण गर्ने विषयमा प्रदेश सरकारले अध्ययन गरिरहेको छ ।

यस विषयले प्रदेश–३ सभामा पनि प्रवेश पाएको छ । स्थायी राजधानीका लागि आवश्यक पूर्वाधारमध्ये सांसद्हरुले एअरपार्ट माग गरेका हुन् । सांसद्हरुले प्रदेशको स्थायी राजधानी बन्दै गरेको हेटौंडामा आन्तरिक विमानस्थल हुनुपर्ने बताएका छन् ।

प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) ले हेटौंडामा प्रदेश राजधानी कायम हुँदै गर्दा आन्तरिक विमानस्थल आवश्यक रहेको औंल्याउनुभयो । प्रदेशसभा सदस्य छिन्तुले बसामाडी वा हर्नामाडी जहाँ भए पनि हेटौंडाआसपास आन्तरिक विमानस्थल भए राजधानीको महिमा बढ्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य विद्या श्रेष्ठले राजधानी हेटौंडामा आन्तरिक विमानस्थल आवश्यक रहेको बताउनुभयो । प्रदेशको राजधानी हेटौंडा उपयुक्त भए पनि आन्तरिक विमानस्थलको सुबिधा हुनुपर्ने उहाँले बताउनुभएको हो ।

सबै सुबिधा भएर पनि आन्तरिक विमानस्थल अभाव रहेको सांसद् मुनु सिग्देलको धारणा छ । आन्तरिक विमानस्थल भयो भने हेटौंडामा कुनै कुराको कमी नहुने सिग्देलको भनाइ छ ।

बसामाडीका बासिन्दाले मुख्यमन्त्री डोरमणि पौडेलसमक्ष राप्तीको नदीउकास जमिनमा विमानस्थल निर्माण गर्न माग गरेपछि प्रदेश सरकारले सम्भाव्यता अध्ययन गर्न लागेको हो । विमानस्थल निर्माण सुरु भएपछि जानकारी दिने गरी प्रदेश सरकारले तयारी गरिरहेको एक जनप्रतिनिधिले जानकारी दिएका छन् । राप्तीखोलाको बगरका रुपमा उपयोगबिहीन अबस्थाको जमीनलाई सुधार गरेर उपयोग गर्न प्रदेश सरकारले पहल सुरु गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले बताउनुभयो ।

हेटौंडा–३ को पूर्वपश्चिम राजमार्गको दक्षिणतिर रहेको करिब ३ सय बिगाहा जमिनमा आन्तरिक विमानस्थल निर्माण सम्भाव्यता अध्ययन गर्न स्थानीयले प्रदेश सरकारसमक्ष माग गरेका हुन् । प्रदेश राजधानीमा विमानस्थल आवश्यक रहेको र यसका लागि बसामाडीको खाली जमिन उपयोगी हुने स्थानीयको भनाइ छ ।

हेटौंडा बजारबाट करिब ७ किमी दुरीमा रहेको प्रस्तावित विमानस्थललाई प्रदेश सरकारले अगाडि बढाउने भएको छ । राप्तीखोलाको किनारामा रहेको बगर क्षेत्रलाई तटवन्ध गरी विमानस्थल निर्माण गर्न स्थानीयले माग गरेका हुन् । मुख्यमन्त्री पौडेल, भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामालगायत टोलीले पटक-पटक उक्त क्षेत्र अवलोकन गरेको वडाअध्यक्ष रामकुमार पुडासैनीले बताउनुभयो । बाढी आउने समयमा खोलाको बहावका लागि आवश्यक स्थान राखेर तटवन्ध निर्माण गरी राप्ती बगरलाई उपयोग गर्न सकिने पुडासैनीको धारणा छ ।