सहारा खोज्दै दृष्टिविहिन, आमाछोरी जस्ता सासु बुहारी अलपत्र


सीताराम अधिकारी, धादिङ ।

सासुबुहारी दुई धुर्व जस्ता हुन भनेर चित्रण गर्ने गरिन्छ । उनिहरु झगडा गर्छन। मिलेर बस्दैनन् तर धादिङको गल्छी गाउँपालिका वडा न. १ फोसटारस्थित अर्काको घरको आड लागेर बसेका सासु ७९ वर्षीया अमृतकुमारी अधिकारी र बुहारी ५१ वर्षीया यमकुमारी आमाछोरी जसरी बसेका छन्।

जन्मजात नेत्रहिन अवस्थामा रहनुभएकी यमकुमारीलाई उनका सासुले लुगा धोइदिने, फरिया लगाइदिने, खाना बनाएर खुवाउने र आफू मेलापात जाँदा घरमा एक्लैहुन्छ भनेर डोर्याएर लाने गर्नुहुन्छ। नमूना परिवार भएपनि परिवारका सबै मानिस एक एक गरि मृत्यु भएपछि आमा छोरी जस्ता सासुबुहारी अहिले सहारा नपाएर विचल्लीमा परेका छन् ।
साँघुरो कोठामा दुई ओटा सा–साना खाट । त्यसमाथी पातला ओड्ने ओछ्याउने । चिसोले बाहिर निस्कन समेत कठिन भएको बेला पातला लुगा लगाएर दिउँसो लाग्ने घामका पर्खाइमा बस्नु उनिहरुको बाध्यता हो ।
२१ वर्षअघि गजुरी गाउँपालिकाको पिडाबाट फोसटारमा ७० हजार रुपैयाँ लिएर आएका थिए। आफ्नो भन्ने सकिएपछि बहिनीको घरको धन्सारमा बस्न आएको परिवार भूकम्प पछि भने बस्ने बाससमेत नभएरअर्केको घरको एकापटी छेउमा बसेर मृत्यु कुर्न बाध्य छन् ।
गत जेठ महिनामा हृदयघातका कारण बहिनी अणकुमारीको मृत्यु भएपछि सहाराविहिन सासु बुहारी अब के खाने रकहाँ जाने भन्ने गन्तब्य हराएपछि विचल्लीमा परेको यमकुमारीले बताउनुभयो ।
स्थानीय सरकारले अपांगताको लागि धेरै काम गरेको समाचार आइरहेको भएपनि नेत्रहिन अवस्था मा रहेकी यमकुमारीसंग सेतोछडी समेत छैन । स्थानीय सरकारकातर्फबाट सहयोग नपाएकोउनिहरुको गुनासोछ।
सरकारले हरेक महिना बुहारीलाई दिएको एकल महिला भत्ता २ हजार र सासुलाई वृद्धभत्ता ३ हजार गरि जम्मा ५ हजारले जति पुग्छ त्यति खाएर बाचेको अमृतकुमारी बताउनुहुन्छ । “अब त भात पकाएर बुहारीलाई खान दिन पनि नसक्ने भएँ, आँखा पनि धमिलो हुन थाल्यो अब केहि उपाय छैन, साँझ बिहानमा पनि सुरक्षित नहुने भो, हामी एक्लो भयाैँ” उनिहरु सहाराको खोजिमा भएपनि कहाँ जाने ? कसले हेर्ने भन्ने चिन्तामा छन् । “मर्न पनि सक्दैनौँ बाँच्ने सहारा पनि सकियो । ” अमृतकुमारी बताउनुहुन्छ ।
“आमा नसक्ने हुनु भो मलाई पकाएर खान दिने मान्छे पनि हुदैन फरिया समेत लगाई दिनुहुन्छ मत आमा जहाँ गए त्यहि जानी हो आमालाई छोड्दिन ।” भन्छिन बुहारी यम कुमारी । सेतो छडीसमेत नभएकोले यम कुमारी खुट्टाले छामेर बाहिरभित्र गर्ने गर्नुहुन्छ ।
संघीय सरकारले दिने भत्ता बाहेक वडाले केही गर्न नसकेको वडाध्यक्ष पुर्णप्रसाद खतिवडाले बताउनुभयो।
यो अवस्थामा रहेका मानिसको सुरक्षा र संरक्षण सरकारले गर्छ भनेर दिनदिनै समाचार आउँछ । मौलिक नेपालको संविधानको मौलिक हकले पनि संरक्षणको जिम्मा राज्यको हो भनिएपनि यो परिवार बेसाहारा बन्दा समेत सहयोग पाउन सकेका छैनन् ।

तस्वीरः सीताराम अधिकारी (धादिङ)